Logo
१७ बैशाख २०८१, सोमबार
(February 8, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमा बनाइने वा प्रदर्शन गरिने फिल्महरुमा यी हुन् २० ओटा अब्यवहारिक सेन्सरसिप अंकुश

नेपालमा बनाइने वा प्रदर्शन गरिने फिल्महरुमा २० ओटा अब्यवहारिक अंकुश लगाइने भएको छ । त्यसो त केही अधिनायकवादी मुलुकबाहेक विश्वबाटै फिल्म सेन्सरसिप हटि सकिएको छ ।

बरु धेरै देशमा फिल्मलाई वर्गीकरण गरी प्रदर्शन अनुमतिको अभ्यास भइसकेको छ । तर नेपालमा सरकार भने चलचित्र जाँचका नाममा झन्झन् अनुदार बन्दै गएको छ ।

फिल्म सेन्सरसिपका नाममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ल्याउन लागेको चलचित्र जाँचसम्बन्धी कार्यविधि २०८० ले चलचित्रमा अंकुश लगाउने गरी २० बुँदासहितको मस्यौदा तयार पारेको छ ।

कार्यविधि मस्यौदामाथि राय लिन मन्त्रालय यतिबेला फिल्म सम्बद्ध संघसंस्थासँग छलफलमा छ । फिल्मकर्मीले भने यही कार्यविधि लागू भएको अवस्थामा फिल्म निर्माणसँगै प्रदर्शनमा नै समस्या निम्तने बताउँछन् ।

उनीहरूले फिल्ममाथि कैंची चलाउने केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) नै खारेजीको माग गरेका छन् । तर सञ्चार मन्त्रालयअन्तर्गतको बोर्ड भने प्रदर्शन अनुमतिका लागि सर्तमाथि सर्त थुपार्न उद्यत देखिएको छ ।

कार्यविधि मस्यौदामा सेन्सरले २० बुँदा समेट्दै फिल्मलाई संकुचन गर्न खोजिएको छ । जसमा ‘यौन उत्तेजना बढाउने गरी ५ सेकेन्डभन्दा बढी गरिएको भद्दा चुम्बन, यौनजन्य अस्वाभाविक क्रियाकलाप एवं व्यवहार तथा पुरुष वा स्त्री जननेन्द्रीय प्रत्यक्ष वा पारदर्शी पोसाकबाट देखिने र त्यसलाई प्रयोग गरी यौन उत्तेजना बढाएमा, नग्नता, बलात्कार, सम्भोगका दृश्य, व्यवहार तथा नैतिकता प्रतिकूल हुने प्रस्तुति भएमा, द्विअर्थी शब्द, दृश्य तथा संवाद पाइएमा प्रदर्शन इजाजत नदिइने’ उल्लेख छ ।

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (नीफ) का अध्यक्ष केपी पाठक फिल्म वा डकुमेन्ट्रीमाथि सेन्सरसिपको विरोध गर्दै वर्गीकरण हुनुपर्ने वकालत गर्छन् ।

चलचित्र जाँचसम्बन्धी कार्यविधि-२०८० (मस्यौदा) अनुसार प्रदर्शन इजाजत नहुने प्रावधानहरू :

१. नेपालको शान्ति, सुरक्षा र व्यवस्थामा खलल पुर्‍याएमा

२. मित्रराष्ट्रसागको सुसम्बन्धमा नकारात्मक असर पारेमा

३. कानुनको गलत व्याख्या गरी वा अदालतको अवहेलना र मानमर्दन गरेमा

४. जाति, धर्म, वर्ग, लिंग, वर्ण, समुदाय/सम्प्रदायबीच नकारात्मक असर पारेमा, धार्मिक, सांस्कृतिक, सामाजिक विचलन ल्याएमा

५. राष्ट्रिय हितविपरीतका दृश्य र संवाद भएमा

६. व्यक्ति विशेष, पेसा, व्यवसायी, संस्थाप्रति मानमर्दन भएमा

७. अपराध गर्न दुरुत्साहन गरेमा

८. बालहिंसा, जघन्य अत्याचार, निर्दयी व्यवहार झल्केमा

९. पशुपन्छीमाथि निर्दयीपूर्ण जघन्य हिंसा गरिएको दृश्य भएमा

१०. शारीरिक, मानसिक अशक्तता भएकालाई होच्याउने, खिसी गर्ने, हिंसा गरिएको निर्दयीपूर्ण व्यवहार झल्काएमा

११. लागू पदार्थ तथा मद्यपानका लागि उत्साहित वा प्रेरित गरेमा

१२. मानवीय संवेदना गुम्ने किसिमका नग्नता, बलात्कार, सम्भोगका दृश्य, व्यवहार तथा नैतिकता प्रतिकूल हुने गरी प्रस्तुत गरेमा

१३. द्विअर्थी शब्द, दृश्य तथा संवाद भएमा

१४. लैंगिक भेदभाव, महिलालाई होच्याइएका, आलोचना गरिएका दृश्य, संवाद भएमा

१५. खोज आविस्कारलाई हतोत्साही गर्ने, अवैज्ञानिक विषयवस्तुलाई प्रोत्साहित गर्ने, राष्ट्रिय स्वार्थविपरीतको सोच, व्यवहार प्रोत्साहित गरेमा

१६. शान्ति, सुव्यवस्था र अमनचैनमा नकारात्मक असर पारेमा

१७. मौलिक परम्परा, रीतिरिवाज, चालचलन, मूल्यमान्यतामा ह्रास आउने तथा सोको दुरुपयोग गरिएका दृश्य तथा संवाद समावेश भएमा

१८. यौन उत्तेजना बढाउने गरी ५ सेकेन्डभन्दा बढी गरिएको भद्दा चुम्बन, यौनजन्य अस्वाभाविक क्रियाकलाप एवं व्यवहार तथा पुरुष वा स्त्री जनेन्द्रीय प्रत्यक्ष वा पारदर्शी पोसाकबाट देखिने र त्यसलाई प्रयोग गरी यौन उत्तेजना बढाएमा

१९. मानवअधिकार उल्लंघन हुने गरी असह्य यातना देखाइएको पाइएमा

२०. राष्ट्रिय गान, चिह्न, अलंकारको दुरुपयोग तथा इतिहास, भूगोल, राष्ट्रिय विभूति, सहिदहरूप्रति गलत व्याख्या गरिएमा

प्रकाशित मिति: Feb 8, 2024

प्रतिक्रिया दिनुहोस्