Logo
१६ बैशाख २०८१, आईतबार
(January 28, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज ७१ औँ विश्व कुष्ठरोग दिवस : नेपालमा २५ सयभन्दा बढी कुष्ठरोगका नयाँ बिरामी

नेपालमा अघिल्लो आर्थिक वर्ष २५ सय जना बढीमा कुष्ठरोग देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार आर्थिक वर्ष २०७९/८० मा २५ सय २२ जनामा कुष्ठरोग पुष्टि भएको हो ।

नेपालमा आज (आइतबार) ७१ औँ विश्व कुष्ठरोग दिवस मनाइँदै छ । ‘कुष्ठरोग सम्बन्धी गलत अवधारणाको अन्त्य गरौँ, मर्यादित व्यवहार गरौँ’ भन्ने नाराका साथ यो दिवस मनाउन लागिएको हो ।

गत आर्थिक वर्षको अन्त्यमा दुई हजार पाँच सय १० जना कुष्ठरोगी उपचाररत रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार गत वर्ष १४ वर्ष मुनिका १ सय ८१ जना कुष्ठरोगका बिरामी फेला परेका छन् ।

अर्थात् नयाँ बिरामीमध्ये ० देखि १४ वर्ष उमेरका ७ दशमलब १८ प्रतिशत बालबालिकामा सो रोग पुष्टि भएको हो । कुष्ठरोगका नयाँ बिरामीमध्ये एक हजार ४९ जना महिला रहेको माहाशाखाले जनाएको छ ।

अर्थात कुष्ठरोगका बिरामी संख्यामध्ये ४१ दशमलब ५१ प्रतिशत महिला छन् । गत वर्ष प्रति एक लाखमध्ये ८ दशमलब ५० जना नयाँ बिरामी पत्ता लागेको महाशाखाले जनाएको छ ।

सबैभन्दा कम कर्णाली प्रदेशमा, मधेस प्रदेशमा सबैभन्दा बढी 
कुष्ठरोगका नयाँ बिरामी कर्णाली प्रदेशमा सबैभन्दा कम फेला परेका छन् । सो प्रदेशमा ७३ जनामा मात्रै कुष्ठरोग पुष्टि भएको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार मधेस प्रदेशमा सबैभन्दा बढी अर्थात् ९ सय ४४ जना नयाँ कुष्ठरोगका बिरामी फेला परेका छन् । फेला परेका जम्मा बिरामी संख्यामध्ये ३७ प्रतिशत मधेसमा छन् ।

यस्तै, कोशी प्रदेशमा ४ सय ७१ जना अर्थात् नयाँ फेला परेका कुष्ठ रोगका बिरामीको १९ प्रतिशत हिस्सा पाइएको छ । यस्तै, नयाँ कुष्ठरोगीमध्ये बागमती र गण्डकी प्रदेशमा पाँच÷पाँच प्रतिशत छन् ।

बागमती प्रदेशमा १ सय २० जना र गण्डकी प्रदेशमा १ सय १९ जना नयाँ रोगी फेला परेका हुन् । लुम्बिनी प्रदेशमा ५ सय ६५ जना नयाँ कुष्ठरोगी फेला परेका छन्, जो देशभरका नयाँ रोगीको २२ प्रतिशत हो ।

यस्तै, सुदूरपश्चिम प्रदेशमा २ सय ३० जना नयाँ कुष्ठरोगी फेला परेका छन् । देशभरको नयाँ कुष्ठरोगीमध्ये यो ९ प्रतिशत हिस्सा हो ।

प्रकाशित मिति: Jan 28, 2024

प्रतिक्रिया दिनुहोस्