Logo
१५ बैशाख २०८१, शनिबार
(January 23, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तत्कालीन स्वास्थ्यमन्त्री उपेन्द्र यादवको हस्ताक्षर रहेको प्रशंसा-पत्र सहित नक्कली डाक्टर पक्राउ

नक्कली कागजपत्र बनाएर आफूलाई डाक्टर भन्दै बिरामी जाँच गर्दै आएका विराटनगरका एक व्यक्ति पक्राउ परेका छन् ।

कोशी प्रदेश स्थित विराटनगर उपमहानगर-२ घर भई काठमाडौं-३ महाराजगञ्ज बस्ने ४० वर्षीय सम्बुद्ध भट्टाचार्यलाई नक्कली डाक्टर भन्दै प्रहरीले पक्राउ गरेको हो ।

उनले आफूलाई डा. एस. भट्टाचार्य भनेर चिनाउने गरेको प्रहरीले जनाएको छ । प्रहरीले उनलाई काठमाडौंको वसुन्धरास्थित धौलागिरी हिमाल पोलिक्लिनिकबाट पक्राउ गरेको हो ।

उनीसँग त्रिवि शिक्षण अस्पताल, महराजगञ्जको कन्सल्ट्यान्ट फिजिसियन भएको कार्ड पनि छ ।  प्रहरीले उनको साथबाट ९ अक्टुबर २०१८ मा तत्कालीन स्वास्थ्यमन्त्री उपेन्द्र यादवको हस्ताक्षरसहितको प्रशंसा-पत्र पनि बरामद गरेको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन निर्देशक डा. ज्ञानेन्द्र गिरीले दिएको पत्र पनि भेटिएको छ । अनुसन्धानका क्रममा ती सबै कागजात नक्कली भएको फेला परेको छ ।

उनले नक्कली कागजात प्रयोग गरेर बिरामी जाँच गरिरहेको पाइएपछि प्रहरीले इलाज र लिखतसम्बन्धी कसूरमा जिल्ला अदालत, काठमाडौंबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

उनको साथमा विश्व स्वास्थ्य सङ्गठनको समेत नक्कली प्रमाण-पत्र भेटिएको छ ।

त्यहाँ उनी इन्डोग्रिनोलोजी कन्सल्टेन्टको रूपमा काम गरिरहेका थिए । आफूलाई डाक्टर बताउने गरेका भट्टाचार्यले उक्त क्लिनिकसँगै नक्सालमा रहेको वी केयर पोलिक्लिनिकमा समेत काम गर्ने गरेको प्रहरीले जनाएको छ ।

उनले उक्त पोलिक्लिनिकमा ९ महिना काम गरी करिब ६ सय ३० बिरामीको उपचारसमेत गराएको पाइएको छ । उनले कम्तिमा ३ वर्षदेखि बिरामी जाँचिरहेका थिए ।

 

प्रकाशित मिति: Jan 23, 2024

प्रतिक्रिया दिनुहोस्