Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 22, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उदितनारायाणसँग हिन्दीमा गाएका रविराज साहको मधेश गान सार्वजनिक (हेर्नुस् भिडियो)

बलिउड गायक उदितनारायाण झासँग गाएका गायक रविराज साहको मधेशकेन्द्रित क्रान्तिकारी गीत सार्वजनिक भएको छ । मधेशगान भनिएको उक्त गितको मुख्य स्पोन्सर मुख्यमन्त्रीको कार्यालय, मधेश प्रदेश सरकार रहेको छ ।

सर्लाहीका रविराज साह TV रियालिटी सो लोकस्टारका प्रतिष्पर्धी समेत हुन् । यसअघि विभिन्न फूटकर गीतहरु गाएका रविको पछिल्लो पटक लोक मैथली भाषाको छठ गीत पनि सार्वजनिक भएको थियो ।

मधेश है अपनी आनबान, जीवनधारा है मधेश भन्दै सार्वजनिक भएको उक्त गीतको भिडियोमा राजा महेन्द्रमाथी तत्कालिन समयमा बंम हानिएको प्रसङ्गलाई पनि देखाइएको छ ।

गीतमा हालको कोशी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका केहि पहिचानका कुराहरुलाई पनि समेटिएका छन् भने गीतमा नेपाल भन्ने शब्द उल्लेख गरिएको छैन ।

गत शुक्रबार बलिदानी दिवसका दिन वीरगञ्जमा आयोजित एक कार्याक्रममा उक्त गीत सार्वजनिक गरिएको हो । राम भरोस कापडी र डा. सागरद्वारा लेखिएको उक्त गीत जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव, मधेशका मुख्यमन्त्री सरोजकुमार यादवलगायत मन्त्री, सांसदहरू उपस्थितीबीच सार्वजनिक गरिएको थियो ।

यता उक्त गीतबारे सार्वजनिक प्रतिकृयाहरु पनि आउन थालेका छन् । पत्रकार राजीव खत्रीले उक्त गीतको बिरोध गरेका छन् । उनले लेखेका छन् -‘हिन्दी भाषामा मधेस गान बनाउने मधेस सरकारलाई राजद्रोहको मुद्दा लगाउँ । विभाजनकारी शक्तिलाई परास्त गरौँ । यो प्रदेश सरकार विरुद्ध सम्पूर्ण राष्ट्रप्रेमी जनता एकजुट हौं । हामीलाई अखण्ड देश चाहियो, संघीयता चाहिएन।’

त्यसैगरी नागरिक टाइम्सका सम्पादक तथा बरिष्ट पत्रकार वीरेन्द्र केएमले पनि सार्वजनिक प्रतिकृया ब्यक्त गर्दै उक्त गीतमा नेपाल शब्द उल्लेख नभएकोमा आपत्ती ब्यक्त गरेका छन् ।

उनले लेखेका छन् – ‘मधेश प्रदेश सरकारको समेत आर्थिक सहयोग रहेको यो गीत भावनात्मकरूपमा ठिक छ । तर यो गीतमा कहिँ पनि नेपाल शब्द उल्लेख छैन, उचित भएन, साथै हिन्दीमा होइन यो गीतलाई नेपालीमा बनाईएको भए अझै उत्कृष्ट हुने थियो ।
यद्यपि गायन उत्कृष्ट रहेको छ । गायन प्रतिभाका धनी रविराजभाईलाई धेरै-धेरै बधाई ।।’

 

हेर्नुस् भिडियो :

प्रकाशित मिति: Jan 21, 2024

प्रतिक्रिया दिनुहोस्