Logo
१५ बैशाख २०८१, शनिबार
(January 21, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दशगजाका १८ सय सीमास्तम्भको मर्मत र रङरोगन, ५५६ घरटहरा भत्काइयो

सशस्त्र प्रहरी बलले नेपाल-भारतबीचमा रहेका एक हजार आठ सयभन्दा धेरै सीमास्तम्भको मर्मत तथा रङरोगन गरेको छ । सरकारको निर्णयअनुसार गत १६ कात्तिकदेखि सशस्त्र प्रहरीले मर्मत सुरु गरेको थियो ।

साढे दुई महिना अवधिमा एक हजार आठ सयभन्दा धेरै मर्मत भइसकेको र अरू पनि मर्मतका क्रममा रहेको सशस्त्र प्रहरी प्रवक्ता एसएसपी राजेन्द्र खड्काले बताए ।

नापी विभागका अनुसार दुई देशको सीमामा आठ हजार आठ सय ५३ सीमास्तम्भ छन् । नेपाल-भारतबीच भएको सहमतिअनुसार सशस्त्र प्रहरीले बिजोर नम्बरका सीमास्तम्भको मर्मत गर्दै आएको छ ।

जोर नम्बरकाे सीमास्तम्भको भारतले मर्मत गर्दै आएको छ । नेपालले करिब दुई हजार दुई सय स्तम्भको मर्मत गर्दै छ ।

सीमा सुरक्षाका ‘डेडिकेटेड फोर्स’ रहेको सशस्त्र प्रहरीलाई ०७७ साउनमा सरकारले सीमास्तम्भको मर्मतसम्भार तथा पुनस्र्थापनाको जिम्मेवारी दिएको थियो ।

तर, यससम्बन्धी कार्यविधि नहुँदा काम सुरु हुन सकेको थिएन । यही वर्ष कार्यविधि स्वीकृत भएसँगै मर्मत सुरु भएको हो ।

सन् २०१४ मा दुई देशबीच २०२२ सम्म सुस्ता र कालापानीबाहेक क्षेत्रको सीमा समस्या समाधानको काम सकिने समझदारी भएको थियो । तर, कोरानालगायत कारणले लक्ष्यअनुसार काम हुन सकेन ।

साथै, सीमाका समस्या समाधानका लागि दुई देशबीच नापी विभागका महानिर्देशकको नेतृत्वमा रहेको सीमा कार्य समूहको बैठक पनि पाँच वर्षदेखि बस्न सकेको छैन ।

बैठक नबस्दा खोलाले बगाएका सीमास्तम्भ तथा विवादित ठाउँमा समस्या कायमै छन् । सीमा विवाद टुंग्याएर नक्सांकन गर्ने जिम्मेवारी सो संयन्त्रलाई दिइएको थियो ।

भारतकै अनिच्छाका कारण कार्य समूहको बैठक बस्न नसकेको गृह मन्त्रालयका अधिकारी बताउँछन् । सीमा सुरक्षालाई बलियो बनाउने उद्देश्यले सरकारले सीमामा सशस्त्रको परिचालन भने बढाएको छ ।

सीमामा सशस्त्र प्रहरीका बोर्डर आउटर पोस्ट (बिओपी) दुई सय ५३ पुगेका छन् । गत सातादेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमनमा पनि सशस्त्र प्रहरीको बेस सरकारको निर्णय अनुसार खटिएको छ ।

भारतबाट प्रवेश गर्नेलाई नेपालप्रति सकारात्मक छाप पार्न सीमा क्षेत्रमा सशस्त्र प्रहरीले सौन्दर्यीकरण र सरसफाइ अभियान सुरु गरेको छ ।

सशस्त्र प्रहरीका प्रवक्ता एसएसपी खड्का अनुसार बाँकेको जमुनाहा नाकाबाट सौन्दर्यीकरणको काम सुरु गरिएको छ । अन्य नाकामा पनि यसलाई निरन्तरतता दिइने उनले बताए ।

सौन्दर्यीकरणका साथ सीमामा सशस्त्र प्रहरीले नेपाल प्रवेश गर्नेलाई पिउने पानीलगायतको सुविधा दिन थालेको छ ।

दशगजा खाली गराउन ५५६ घरटहरा भत्काइयो

सशस्त्र प्रहरीले नेपाल-भारत सीमाको दशगजा क्षेत्र खाली गराउने अभियान चलाइएको छ । जसअन्र्तगत हालसम्म ३८ स्थानमा पाँच सय ५६ घरटहरा हटाएको छ ।

भारतीय सशस्त्र सीमा बलसँगको समन्वयमा दश गजा क्षेत्र खाली गराउन थालिएको एसएसपी राजेन्द्र खड्काले बताए । जसअन्र्तगत १६.७ किलोमिटर दशगजा खाली गराइएको र दशगजामा पर्ने १३.३२ बिघा जग्गामा खेती गर्न रोक लगाइएको छ ।

दशगजा क्षेत्रमा दुवै क्षेत्रबाट घर बनाउने तथा खेती गर्ने प्रवृत्ति रहेको गृह मन्त्रालयको रिपोर्ट छ । कतिपयको घर नेपालतर्फ त आँगन भारततर्फ छ । जसले गर्दा सीमामा समस्या भएपछि दशगजा क्षेत्रलाई सशस्त्र प्रहरीले खाली गराउने अभियान थालेको हो ।

प्रकाशित मिति: Jan 21, 2024

प्रतिक्रिया दिनुहोस्