Logo
१६ बैशाख २०८१, आईतबार
(January 19, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आशुतोष र ईशानको उत्कृष्ट बलिङ, बागमती प्रदेशको तेस्रो जित

ओपनर आशुतोष घिरैयाको शतक र अलराउन्डर ईशान पाण्डेको उत्कृष्ट बलिङमा बागमती प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशलाई ६४ रनले हराउँदै तेस्रो जित हात पारेको छ ।

यो जितसँगै बागमती अंक तालिकामा दोस्रो स्थानमा उक्लिएकोछ ।

जितको लागि २७४ रनको विजयी लक्ष्य पछ्याएको कोशी ४७.१ ओभरमा २९ रनमा अल आउट भयो । कोशीका सुजन थपलियाले ७६ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ५९ रन जोडे ।

कप्तान अंकित सुवेदीले ६५ बलमा ४ चौका र २ छक्कासहित ५३ रन बनाए । ओपनर सोनु अन्सारी र अंकित सुवेदीले पहिलो विकेटका लागि ११.५ ओभरमा ४५ रन जोड्दै मध्यम सुरुवात दिलाएका थिए ।

सोनु प्रतीक श्रेष्ठको बलमा एज लागेर विकेटकिपर रविन जोशीबाट २१ रनमा क्याच आउट भए । लगत्तै अर्को बलमा मिनाश थापा शून्यमा रन आउट भए ।

तेस्रो विकेटका लागि अंकित र सुजनले ६९ रनको साझेदारी गर्दै जितको झिनो आशा जगाएका थिए । त्यसपछि बागमतीका पार्टटाइम स्पिनर ईशान पाण्डेले उत्कृष्ट बलिङका साथ टोलीको जित पक्का गराए ।

अंकित २५ औं ओभरको तेस्रो बलमा ईशानलाई कभरमा सर्ट खेल्ने धुनमा प्रतिश जिसीबाट क्याच आउट भए ।

फिर्दोस अन्सारी ईशानको बलमा ५ रनमा कट एन्ड बोल्ड आउट भए । भुपाल लुईंटेल खराब रणनीति अपनाउँदै अघि बढेर सट खेल्ने धुनमा ३ रनमा स्टम्पिङ आउट भए ।

स्पिनर सूर्य तामाङले पुलिसविरुद्धका शतकधारी सुजनलाई बोल्ड गरेपछि कोशीको जितको आशा सकिएको थियो ।

आशिष भट्टराई ३८ बलमा ३ चौकासहित ३२ रनमा नट आउट रहे । बागमतीको जितमा ईशान पाण्डेले ८ ओभरमा ३९ रन खर्चेर सर्वाधिक ५ विकेट लिए ।

रिजन ढकाल र प्रतीक श्रेष्ठले १–१ विकेट लिए । सूर्य तामाङले १० ओभरमा ४८ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बागमती ४८.३ ओभरमा २७३ रनमा अल आउट भएको थियो ।

बागमतीको जितमा ओपनर आशुतोष घिरैयाले १ सय ११ बलमा १६ चौका र २ छक्कासहित १ सय १८ रनको सानदार शतकीय इनिङ खेले । उनको यो करिअरको पहिलो शतक हो ।

कमल खत्रीको दशौं ओभरको दोस्रो बलमा फस्ट स्लिपमा सुजन थपलियाले ४१ रनमा उनको क्याच छाड्न पुगेका थिए । त्यो जीवनदानको भरपूर्ण फाइदा उठाउँदै ड्रिम शतक हानेका थिए ।

लेग स्पिनर हेमन्त राईलाई ३३ औं ओभरको पहिलो बलमा लङअफमा छक्का हान्ने धुनमा आशुतोष ११८ रनमा क्याच आउट भए ।

लङअफका फिल्डर कमल खत्रीले उत्कृष्ट ड्राइभ हान्दै एक सानदार क्याचका साथ उनको इनिङ अन्त्य गरे । ईशान ६ रनमा कमलको बलमा मिडअनमा भुपाल लुईंटेलबाट क्याच आउट भएका थिए ।

त्यसपछि दोस्रो विकेटका लागि आशुतोष र कप्तान रित गौतमले १३१ रनको शतकीय साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए । रितले ६० बलमा ३ चौकासहित ४९ रन बनाए ।

विकेटकिपर रविन जोशी ४५ बलमा ३ चौका र १ छक्कासहित ४३, प्रतीक श्रेष्ठ १९ र अशोक पौडेल ५ रनमा आउट भए । ठूलो सट खेल्ने धुनमा तल्लोक्रमका ब्याटर सस्तैमा आउट भएका थिए । विपिन आचार्य र सूर्य तामाङले ९–९ रन बनाए ।

कोशीका अभ्यास तिमिशिनाले ९ ओभरमा ४३ रन खर्चेर ३ विकेट लिए । हेमन्त राई र कमल खत्रीले २–२ विकेट लिए ।

फिर्दोस अन्सारीको नाममा १ विकेट रह्यो । बागमती सुरुवाती दुई खेलमा पुलिससँग ६८ रन र एपीएफसँग ८९ रनले पराजित भएको थियो ।

मधेशलाई ८६ रन र आर्मीलाई तीन विकेटले हराएको थियो । बागमतीले सोमबार मुलपानीमा कर्णालीसँग खेल्नेछ ।

कोशी यसअघि मधेशसँग ७ विकेट, एपीएफसँग ६ विकेट, पुलिससँग ७ विकेट र आर्मीसँग ९ विकेटले पराजित गरेको थियो । कोशीले अब मुलपानीमा गण्डकीसँग खेल्नेछ ।

बागमती ५ खेलमा ३ मा जित र २ मा हारसहित ६ अंकका साथ दोस्रो स्थानमा छ । सुदूरपश्चिम ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ ।

कोशी पाँच खेलमा हारका साथ पुछारमा छ । शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

प्रकाशित मिति: Jan 19, 2024

प्रतिक्रिया दिनुहोस्