Logo
१६ बैशाख २०८१, आईतबार
(December 31, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लोसपाको लुम्बिनी प्रदेशस्तरीय भेलामा लफडा : महतो पक्षीय नेताद्वारा खादाले मुख बाँध्दै विरोध !

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) को प्रदेशस्तरीय भेलामा लफडा भएको छ । लोसपाले शनिवार लुम्बिनी प्रदेशमा प्रथम भेला बोलाएको थियो ।

तर, सो भेलामा वरिष्ठ नेता राजेन्द्र महतो पक्षधर कुनै पनि नेतालाई नबोलाइए पछि विवाद उत्पन्न भएको हो ।

पार्टीभित्रको बढ्दो विवादका कारण लुम्बिनी प्रदेशमा महतोसहित उनी पक्षका कुनै पनि नेतालाई नबोलाइएको बताइएको छ । तर नेता महतो निकट केन्द्रीय सदस्य महेन्द्र गुप्ता (प्रशान्त) नबोलाइए पनि त्यहाँ पुगेका थिए ।

त्यहाँ पुगेपछि उनलाई आसनग्रहण त गराइयो तर बोल्न समय दिइएन । बोल्न नदिइएपछि उनले खादाले आफ्नो मुख बाँधी मञ्चमै उभिएर विरोध जनाएका थिए ।

उनले लोसपा लोकतान्त्रिक पार्टी भए पनि यहाँ लोकतन्त्रको कुनै अभ्यास नभएको कारण आफूले त्यसको विरोध गरेको बताए ।

‘लामो समयदेखि लोसपामा रहेर सक्रिय राजनीतिमा छु, तर पार्टीले प्रदेशस्तरीय भेला गर्दा त्यसको जानकारी हुँदैन, यस्तो कस्तो लोकतान्त्रिक पार्टी हो ?’, उनले भने, ‘यदि मैले पार्टी नमानेको भए नबोलाएको खण्डमा त्यहाँ जाँदैनथे । तर आफ्नो पार्टी सम्झेर त्यहाँ गएपनि कुरा राख्न पटक पटक अनुमति माग्दा समेत दिइएन । त्यसपछि मैले विरोध जनाएको हुँ ।’

भैरहवाका उनलाई लोसपामा महतो निकट भनेर चिनिन्छ । राजेन्द्र महतो नेतृत्वको तत्कालीन सद्भावना पार्टी हुँदै लोसपामा आएका गुप्ताले आफूलाई राजेन्द्र महतोले भनेको कारण विरोध गरेको नभई मञ्चमै बेवास्ता गरिएपछि बाध्य भएर यो कदम चालेको दाबी गरे ।

उनका अनुसार लुम्बिनी प्रदेशसभामा पार्टीको सांसद भएपनि सक्रियता छैन । ‘पार्टीको के लाइन हो, संसदमा केही कुरा उठ्दैनन्, जुन नेतालाई जे मन लाग्छन् त्यही गर्छन्’, उनले भने, ‘केन्द्रबाट कुनै एउटा नेता आउँदा समन्वय हुँदैन । यही विषयमा बोल्न समय मागे पनि रोकेपछि विद्रोह गर्न बाध्य भएँ ।’

तर लोसपा लुम्बिनी प्रदेश समितिका मुख्यसचिव इस्लाम खानले भने प्रदेशका सबै नेतालाई कार्यक्रमका लागि निमन्त्रणा गरेको दाबी गरे । उनले भने, ‘कुनै एक जनाले भन्दियोस् कि कार्यक्रमका लागि खबर भएको थिएन, यहाँ महतो पक्ष वा ठाकुर पक्ष केही पनि छैन । यहाँ सबै लोसपाका नेता तथा कार्यकर्ता हुन् । सबैलाई कार्यक्रमको बारेमा जानकारी थियो, यदि कसैले जानकारी नरहेको भनिरहेका छन् भने त्यो झुट हो ।’

आफूहरूले प्रदेशबाट पार्टीका वरिष्ठ नेता महतोलाई पनि निमन्त्रणा पठाएको उनले दाबी गरे । तर, उनले पाए कि पाएनन् त्यो आफूहरूको जानकारीमा नआएको उनको भनाइ छ ।

कार्यक्रममा ३२ जना केन्द्रीय सदस्यको उपस्थिति रहेको र सबैलाई बोल्न दिने अवस्था नभएको उनको भनाइ थियो । त्यही भएर उनलाई पनि बोल्न नदिएको खानले दाबी गरे ।

सो कार्यक्रममा लोसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता शरतसिंह भण्डारी, वरिष्ठ उपाध्यक्ष जितेन्द्र सोनल, महासचिव डा.सुरेन्द्र झा पनि सम्बोधनका लागि जाने कार्यक्रम तय थियो । उनीहरू शुक्रवार नै त्यसतर्फ जाने तयारीमा थिए ।

तर मौसमका कारण जहाज नगएपछि त्यो दिन जाने कार्यक्रम रद्द भएको थियो । भोलीपल्ट शनिवार बिहान पनि त्यस्तै अवस्था भएपछि केन्द्रबाट कोही पनि नेता त्यता जान पाएनन् ।

त्यसपछि प्रतिनिधि सभा सदस्य एवं वरिष्ठ सहअध्यक्ष सर्वेन्द्रनाथ शुक्लाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको तयारीका लागि नेता शुक्ला भने केही दिन पहिला नै पुगेका थिए ।

प्रकाशित मिति: Dec 31, 2023

प्रतिक्रिया दिनुहोस्