Logo
१२ श्रावण २०८१, शनिबार
(December 3, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गौतमबुद्ध विमानस्थलबाट नेपाल एयरलाइन्सको जहाज नियमित सञ्चालन गर्न माग

भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट सरकारी स्वामित्वको नेपाल वायु सेवा निगमको जहाजबाट आन्तरिक र अन्तराष्ट्रिय उडान नियमित सञ्चालन गर्न माग गर्दै नेपाल एशोसियसन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा) लुम्बिनी प्रदेशले निगममा ज्ञापन पत्र बुझाएको छ ।

ज्ञापनपत्रमा विमानस्थल लक्षित गरी होटल तथा पर्यटन व्यवसायमा निजी क्षेत्रको ६० अर्ब बढी लगानी भइसकेकाले अन्तर्राष्ट्रिय उडान नियमित हुन नसक्दा लगानी असुरक्षित भएकाले सो लगानी सुरक्षित गराउन निगमको जहाज नियमित सञ्चालन गर्न माग गरिएको छ ।

नाट्टाका निवर्तमान अध्यक्ष सागर अधिकारी र पुर्व अध्यक्ष सन्जिव जोशीको नेतृत्वमा काठमाडौं गएको एक प्रतिनिधिमण्डलले नेपाल वायुसेवा निगमका नायब महाप्रबन्धक जनकराज कालाखेतीलाई ज्ञापनपत्र बुझाउदै जतिसक्दो छिटो भैरहवाबाट नियमित उडान गराउन माग गरेका छन् ।

ज्ञापनपत्र बुझ्दै निगमका नायब महाप्रबन्धक कालाखेतीले हाल निगमका चारवटा मात्रै जहाज भएकाले समस्या भएको तर सरकारले सहजीकरण गरेमा नियमित उडान गर्न सकारात्मक रहेको बताएको नाट्टाका पुर्वअध्यक्ष अधिकारीले जानकारी दिए ।

विमानस्थलबाट निगमले भैरहवा-काठमाडौं र भैरहवा -दिल्ली उडान गरेमा फुल बुकिङ गराउन नाट्टा र ट्राभल व्‍यवसायीले ससहकार्य गर्ने पुर्वअध्यक्ष सन्जीव जोशीले प्रतिबद्धता जनाए ।

हाल भैरहवाबाट बुद्ध, यति, श्री एअरलायन्सका गरी १५ वटा जहाजले उडान भर्दै आएका छन् । यसका साथै प्रतिनिधिमण्डलले प्रधानमन्त्री, पर्यटनमन्त्री, श्रममन्त्रीसँग समेत भेटेर भैरहवा विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानको लागि पहल गर्न लिखित रुपमा ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ ।

माग सम्बोधन नभए उद्योगी व्यवसायी, विभिन्न संघ–संस्था विमानस्थलमा धर्ना दिने, आन्तरिक उडान ठप्प पार्नेसम्मका दबाबमूलक आन्दोलन घोषणा गरिएको छ ।

विमानस्थल सञ्चालनमा नआउँदा विमानस्थललाई लक्षित गर्दै खोलिएको करिब १५ देखि २० वटा ठूला होटलहरु बैंकले लिलामी गरिसकेको व्यवसायीको भनाइ छ ।

प्रकाशित मिति: Dec 3, 2023

प्रतिक्रिया दिनुहोस्