Logo
२४ बैशाख २०८१, सोमबार
(October 12, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माओवादीका आङ्बोलाई कोशी प्रदेशको मुख्यमन्त्री बनाउने गठबन्धनको निर्णय

नेकपा माओवादीका इन्द्र आङ्बोलाई कोशी प्रदेशको मुख्यमन्त्रीका रुपमा आघि सार्ने सत्तारुढ गठबन्धनले निर्णय गरेको छ । गठबन्धनको बिहीबार बसेको बैठकले आङ्बोलाई प्रदेशको मुख्यमन्त्रीको उम्मेदवारको रुपमा अघि सार्ने निर्णय गरेको हो ।

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेका अनुसार नेपाली कांग्रेसकै प्रस्तावमा आङ्बोलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउन लागिएको हो । ‘आङ्बोको नाममा गठबन्धनले सर्वसम्मत निर्णय गरेको हो,’ पाण्डेले भने, ‘सम्भव भए आजै नै दाबी पेस गर्ने समेत कुरा भएको छ ।’

प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा (५) अनुसार सरकार गठनका लागि असोज २६ गते साँझ ५ बजेसम्मको समय सीमा दिएका छन् । बहुमत पुर्‍याउन नसकेपछि संविधानको धारा १६८ को उपधारा ३ अनुसार भदौ २२ गते मुख्यमन्त्रीमा नियुक्त हिक्मत कार्कीले असोज २० गते पदबाट राजीनामा दिएका थिए ।

गठबन्धन सरकारमा मधेस प्रदेशको नेतृत्व जसपाले गरेको छ भने गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार छ । बागमती र कर्णालीमा सरकारको नेतृत्व गरेको माओवादीले अब कोशीमा पनि मुख्यमन्त्री पाउने भएको हो ।

‘अस्ति राजेन्द्र लिङ्देनजीले माओवादी केन्द्रको नेतृत्वमा सरकार बन्दा सहकार्यका लागि सजिलो हुन्छ भन्ने कुरा गर्नुभएछ । अहिलेलाई माओवादीलाई छाड्नुपर्ने परिस्थिति बन्यो,’ देउवा निकट स्रोतले भन्यो ।

कोशी प्रदेशसभा ९३ सदस्यीय छ । बहुमतका लागि कम्तीमा ४७ जना प्रदेशसभा सदस्यको साथ चाहिन्छ । कोशीमा नेकपा एमालेका उपसभामुखसहित ४०, कांग्रेसका २९, माओवादीका १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६, नेकपा एकीकृत समाजवादीका चार र जनता समाजवादी पार्टीको एक जना सांसद छन् ।

संघीय सरकार चलाइरहेको सत्ता गठबन्धनमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाका गरी ४७ जना छन् । यहाँ सभामुख पद रिक्त छ । त्यसैले ६ सांसद भएको राप्रपासँग सत्ता गठबन्धनले साथ खोजेको छ ।

प्रकाशित मिति: Oct 12, 2023

प्रतिक्रिया दिनुहोस्