Logo
२० बैशाख २०८१, बिहीबार
(August 18, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब श्रम विभागका सम्पूर्ण क्रियाकलाप अनलाइनबाट, सुरू भयो ‘लेमिस’

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका सम्पूर्ण क्रियाकलाप अनलाइन प्रणालीमार्फत हुने भएका छन् । विभागले प्रवाह गर्दैै आएको सेवालाई अनलाइन मार्फत सञ्चालन गर्न आवश्यक सिस्टमको विकास गरेको छ ।

शुक्रबार एक कार्यक्रम आयोजना गरेर ‘एकीकृत श्रम व्यवस्थापन सूचना प्रणाली’ (लेमिस) शुभारम्भ गरिएको छ । लेमिसको शुभारम्भ गरिएसँगै विभागबाट हुने सम्पूर्ण सेवा प्रवाहका कार्य अबदेखि अनलाइन मार्फत हुनेछन् ।

विभागका प्रवक्ता तथा निर्देशक मणिनाथ गोपले अबदेखि विभाग र अन्तर्गत कार्यालयबाट अनलाइन मार्फत विभिन्न सेवाहरू प्रवाह हुने बताए ।

विभागका अनुसार विदेशी नागरिकको श्रम इजाजत सम्बन्धी कार्य अनलाइनबाटै हुनेछ । त्यसमा विदेशीलाई श्रम स्वीकृति÷इजाजत प्रदान गर्ने, विदेशी नागरिकलाई श्रम स्वीकृति-इजाजत खारेजी गर्ने समेत अनलाइनबाटै हुने प्रवक्ता गोपले बताए । यो कार्य विभागबाट मात्र हुने उनको भनाइ छ ।

श्रमिक आपूर्तिकर्ता सम्बन्धी कार्यसमेत अनलाइनबाटै हुनेछ । इजाजतपत्र जारी गर्ने, इजाजत नवीकरण, सेवा तथा कार्यक्षेत्र परिवर्तन र थपघट, इजाजत खारेजीजस्ता कार्यसमेत अबदेखि अनलाइन मार्फत नै हुने उनले बताए ।

ट्रेड युनियनसम्बन्धी कार्यसमेत अबदेखि अनलाइन मार्फत नै हुनेछ । त्यसमा ट्रेड युनियनहरूको दर्ता नवीकरण, ट्रेड युनियनको नाम परिवर्तन, खारेजी तथा नियमनको कार्यसमेत अनलाइनबाटै गरिने प्रवक्ता गोपले बताए ।

त्यस्तै विभाग र अन्तर्गत रहेका ११ वटै कार्यालयहरूबाट श्रम अडिटका लागि समेत अनलाइन मार्फत नै पेस गर्नुपर्ने उनको भनाइ छ । व्यवसायजन्य दुर्घटनाको विवरण दर्ता, प्रतिष्ठानहरू सूचीकृत हुने जस्ता कार्य पनि विभाग र अन्तर्गतका कार्यालयहरूबाट अनलाइन मार्फत नै हुने छ ।

श्रम विवाद सम्बन्धी निवेदनहरू दर्ताको कार्य समेत अनलाइन मार्फत नै गर्न सकिनेछ । न्यूनतम पारिश्रमिक सम्बन्धी निवेदन दर्ता गराउन सक्ने, व्यक्तिगत मागदावी दर्ता गराउन सक्ने व्यवस्था, सामूहिक मागदावी दर्ता गराउने सक्ने लगायतका कार्य समेत अनलाइनबाटै हुने भएको छ । विभागले हाल यो सेवालाई परीक्षणकालमा राखेको जनाउँदै प्रवक्ता गोपले तत्काललाई अनलाइन र भौतिक दुवै रूपमा सेवा प्रवाह गर्ने बताए ।

विभागका महानिर्देशक केशव प्रसाद बिमलीले मन्त्रालयले आफ्ना गतिविधिहरू विद्युतीय माध्यमबाट गर्ने नीति अनुसार विभागले समेत अनलाइन प्रणालीको विकास गरेको बताए । वार्षिक ५ हजार ५०० भन्दा बढी सेवाग्राहीले सेवा लिने गरेको भन्दै अब अनलाइनमार्फत गर्दा निकै सहज हुने उनले बताए ।

अबदेखि विभाग र मातहतका निकायबाट प्रवाह हुने सेवाहरू अनलाइनबाटै हुने भएकाले त्यही आधारमा अघि बढ्न विभागले अनुरोध गरेको छ ।

कार्यक्रममा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले स्वदेशको श्रम क्षेत्रमा देखिएका विद्यमान समस्या र त्यसको समाधानका लागि अनलाइन प्रणाली निकै प्रभावकारी हुने बताए ।

पारिश्रमिक नपाउने तथा कम पाउने समस्या विद्यमान रहेको भन्दै अब अनलाइन मार्फत नै उजुरी गरेको खण्डमा तत्काल कारवाही गर्न सजिलो हुने उनले प्रस्ट पारे ।

मन्त्रालय अन्तर्गतका विभिन्न विभाग तथा कार्यालयहरू यसअघि नै अनलाइन प्रणालीमा गइसकेका छन् । श्रम विभाग भने हालसम्म जान सकेको थिएन ।

अनलाइन मार्फत विदेशी नागरिकहरूमाथि निगरानी बढाउनसमेत अनलाइन प्रणालीमार्फत सहज हुने मन्त्रालयको विश्वास छ ।

प्रकाशित मिति: Aug 18, 2023

प्रतिक्रिया दिनुहोस्