Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 30, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली फिल्म ‘बगान’ हेर्न सिनेमा हलमा परिवारिक घुइँचो, तेस्रो सातासम्म हाउसफुल

नेपाली चलचित्र ‘बगान’ प्रदर्शनको तेस्रो सातामा प्रदर्शनरत् छ । यद्यपि यसको दर्शक बढिरहेका छन् । दर्शककै ’वर्ड अफ माउथ’को कारण तेस्रो सातामा प्रवेश गरेको ‘बगान’ हेर्न हलमा परिवार नै देखिने गरेका छन् ।

तेस्रो सातामा प्राप्त चलचित्रको अधिकांस सो हाउसफुल भएको छ । शनिवार निर्माण टिमले काठमाडौँस्थित एफक्युब र क्युएफएक्स सिभिल मलमा पुगेर दर्शकसँग साक्षात्कार गरे ।

सिभिल मलमा रहेको हलमा एक दर्शक अभिनेत्री करिश्मा मानन्धरलाई देख्नेवितिकै भक्कानिइन् । उनले चलचित्रमा आफ्नै कथा भेटेको प्रतिक्रिया दिईन् ।

उनले भनिन्, ‘यो हाम्रो कथामा बनेको चलचित्र हो । यसले हाम्रो बारेमा समाजलाई जानकारी गराएको छ । हामीले परिवार र समाजबाट चाहने साथलाई चलचित्रले व्यक्त गरेको छ ।’

यस्तै, एफएक्युबमा भेटिएकी एक दर्शकले आफ्नो छोरीले चलचित्रमा झैँ दोस्रो विवाह गर्ने भए आफू तयार रहेको प्रतिक्रिया दिएको बताएकी थिइन् ।

दर्शकले चलचित्रमा आमा बनेकी करिश्मासँगै छोरीको भूमिकामा रहेकी नव अभिनेत्री प्रमिला कार्कीको तारिफ गरेका छन् । प्रायः दर्शक यी दुवैलाई आफ्नो कथा व्यक्त गरेको भन्दै धन्यवाद दिइरहेका छन् ।

हलमा दर्शकसँग प्रतिक्रिया लिएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अभिनेत्री करिश्माले चलचित्रले दर्शक तान्न सफल भएको बताइन् । उनले भनिन्, ‘वर्ड अफ माउथकै कारण दर्शकको भिडभाड हलमा घटेको छैन । हामीले देखाउन खोजेको कथाले समाजलाई दिईरहेको संदेशले हामी सफल भएका छौं ।’

वितरक करण श्रेष्ठले तेस्रो सातामा प्राप्त सो हाउसफुल हुनुका साथै उच्च अकुपेन्सीका साथ प्रदर्शन भईरहेको जानकारी दिए । ‘बगानले दर्शक तान्दा हामी मात्र नभइ सम्पूर्ण उद्योग नै खुसी छ ।

नेपाली चलचित्र चल्दा सबैलाई फाईदा छ’, वितरक श्रेष्ठले भने, ‘यो चलचित्र पश्चात विदेशी ठूला चलचित्र पनि आए । यद्यपि दर्शकको साथ दिनुभएकै कारण अहिलेसम्म हाउसफुलका साथ प्रदर्शनरत् छ ।’

नव अभिनेत्री कार्कीले दर्शकको साथले भिड बढ्नेमा विश्वस्त रहेको बताइन् । उनले भनिन्, ‘दर्शककै प्रतिक्रियाले भिड वढेको छ । यसबारेमा हामी प्रदर्शनकै समयमा क्लियर थियौँ ।

यस्ता चलचित्रलाई दर्शकले नै राम्रो भन्नु पर्ने थियो र भन्नुभयो ।’ उनले चलचित्रको संदेश एकल आमा र सन्तासम्म पुगेकोमा खुसी व्यक्त गरिन् ।

यस्तै, चलचित्रका निर्माता तथा गीतकार सुरेश वाग्लेले ग्रस व्यापार एक करोड नाघेको जानकारी दिए । उनले भने, ‘हामीले एकल आमालाई चलचित्र निःशुल्क देखाइरहेका छौं । हाम्रो यो प्रयासमा सरकारले ट्याक्स फ्री गरेर सहयोग गर्न सक्छ । यस्ता विषयमा चलचित्र बनाउन राज्यको पनि साथ आवश्यक छ ।’

अभिनेता सरोज खनालले प्रथम पटक निर्देशन गर्नुभएको चलचित्र ‘बगान’मा करिश्मा मानन्धर, आकाश श्रेष्ठ, प्रमिला कार्की, नीर शाह, बसुन्धरा भुषाल र मिथिला शर्मा लगायतको अभिनय रहेको छ । अभिनेत्री कार्कीले यहि चलचित्रबाट अभिनयमा डेब्यु गरेकी हुन् ।

स्वप्निल नीरवको कथामा आधारित रहि बनेको यो चलचित्र नेपाली वेबसाइट डटकमको प्रस्तुतिमा बनेको हो । ‘बगान’का निर्माता तथा गीतकार सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर हुन् ।

यसमा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, सन्देश शाहको सम्पादन, समिर मियाँको भि.एफ.एक्स. तथा रेनिश फागोको कलर करेक्शन रहेको छ ।

ब्याकराउन्ड स्कोर सुजिल कर्माचार्य र साउन्ड मिक्सिङ मुकेश शाहको रहेको छ । हरि लम्साल र सुवास भुषालको संगीत रहेको चलचित्रका गीतमा अञ्जु पन्त, सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर रहेको छ ।

यसको वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र मोफसलमा एफडी कम्पनीले गरिरहेको छ ।

प्रकाशित मिति: Jul 30, 2023

प्रतिक्रिया दिनुहोस्