Logo
२१ बैशाख २०८१, शुक्रबार
(July 27, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हरेक निकायले सूचनाको अभिलेखन गरी सार्वजनिक गर्नुपर्छ : मुख्य सचिव अर्याल

नेपाल सरकारका मुख्य सचिव डा. वैकुण्ठ अर्यालले हरेक मन्त्रालय र निकायले सूचनाको अभिलेखन गरी सार्वजनिक गर्नुपर्ने बताएका छन् ।

प्रधानमन्त्रीको सचिवालयले आयोजना गरेको संवैधानिक निकाय, संघीय मन्त्रालय तथा केन्द्रीय निकायका प्रवक्ता र सूचना अधिकारीहरूको अन्तर्क्रिया छलफललाई सम्बोधन गर्दै मुख्य सचिव डा. अर्यालले यस्तो बताएका हुन् ।

उनले सूचना दिन नडराउन पनि सबै प्रवक्ता र सूचना अधिकारीहरूलाई निर्देशन दिए ।

कार्यक्रममा राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख आयुक्त डा. कृष्णहरि बास्कोटाले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सूचनाको हकले राज्यलाई बलियो बनाउने उल्लेख गर्दै उनले सबै नागरिकले सूचना पाउनुपर्ने हकको सुनिश्चितता हुनुपर्ने बताए ।

उनले भने ‘हामी मुस्कानसहितको सेवा दिने भन्छौँ, मुस्कानसहितको सेवा भनेको कर्मचारी हाँस्दै हिँड्ने भनेको होइन’, उनले भने, ‘सरकारी सेवा पाउँदा सेवाग्राही मुसुक्क हाँस्ने वातावरण बनाउनुपर्छ भनेको हो । तपाईँहरूले सूचना दिन कुनै कन्जुस्याइँ गर्नुहुन्न ।’

कार्यक्रममा प्रधानमन्त्री कार्यालय सचिव गणेश पाण्डे, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत, सहसचिव तथा प्रवक्ता नेत्रप्रसाद सुवेदी, प्रधानमन्त्री कार्यालयका सहसचिव नारायणप्रसाद भट्टलगायतले बोल्नुभएको थियो ।

छलफलपछि हरेक दुई महिनामा प्रवक्ताहरूको अन्तर्क्रिया आयोजना गर्ने, सबै प्रवक्ता र सूचना अधिकारीहरूको डिजिटल नेटवर्क बनाउने, हरेक मन्त्रालयबाट प्रवाह हुने सूचनाहरू सूचना तथा प्रसारण विभागको वेबसाइटबाट सार्वजनिक गर्ने र सरकारका प्रवक्ताको पत्रकार सम्मेलनमा सम्बन्धित मन्त्रालयका प्रवक्ताहरू सहभागी बनाउने निर्णय गरिएको छ ।

प्रकाशित मिति: Jul 27, 2023

प्रतिक्रिया दिनुहोस्