Logo
२६ बैशाख २०८१, बुधबार
(July 19, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारले बनायो डेंगु रोकथाम र नियन्त्रणको कार्ययोजना, एक्सन प्लानसहित सर्कुलर

नेपालमा डेंगु देखापरेको १९ वर्षपछि सरकारले स्पष्ट वार्षिक कार्ययोजना बनाई लागू गरेको छ । सरकारले अहिलेसम्म डेंगु नियन्त्रण कार्यक्रम गर्दै आएपनि स्पष्ट वार्षिक कार्ययोजना बनाइ लागू गरेको यो पहिलो पटक हो ।

यसअघि सरकारले डेंगु रोकथामका लागि वार्षिक कार्यक्रम गर्दै आएको थियो । यस पटक डेंगु नियन्त्रणका लागि स्पष्ट वार्षिक कार्ययोजना बनाइ ७७ वटै जिल्लामा कार्यान्वयनका लागि पठाइसकेको छ ।

सरकारले बनाएको कार्ययोजनामा भेक्टर नियन्त्रण, लामखुट्टेको वृत्तिविकास रोक्ने उपाय, उपचार पद्धति, स्थानीय तह, रेडक्रस लगायतका स्वास्थ्यसँग सम्बन्धित संस्थाहरुको भुमिका बारेमा स्पष्ट पारिएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख रुद्र मरासिनीले बढी जोखिम भएका ९२ वटा स्थानीय तहमा एक्शन प्लानसहित विशेष सर्कुलर जारी गरेको बताए ।

‘डेंगुको जोखिम बढ्नसक्छ भनेर केही कार्ययोजना बनाएका छौं । यो वर्षको कार्ययोजना बनीसकेको छ । कार्ययोजनामा भेक्टर नियन्त्रण, लामखुट्टेको वृत्तिविकास कसरी रोक्ने ? उपचारमा केके गर्ने ? स्थानीय तहको भुमिका के हो ? रेडक्रसको भूमिका के हो ? भन्ने विषय समेटेका छौं’, उनले भने, ‘कार्ययोजना ७७ वटै जिल्लामा पठाइसकेका छौं । बढी जोखिम भएका ९२ वटा पालिकामा एक्शन प्लानसहित विशेष सर्कुलर गरिसकेका छौं । बढी जोखिम भएका ठाउँहरु काठमाडौं ललितपुर,भक्तपुर चितवन र मकवानपुरका सरोकारवालाहरुसंग बसेर कार्यक्रम गरिसकेका छौं । उच्चस्तरीय डेंगु नियन्त्रण कमिटीमापनि छलफल गरेर निर्णयहरु गरेका हौं ।’

डा. मरासिनीले नेपालमा सन् २००४ देखि हालसम्म १९ वर्षको अवधिमा ८३ हजार ६८१ जनामा डेंगु संक्रमण देखिएको बताए । उनले पछिल्लो तथ्याङ्क अनुसार असार ३० सम्म २ हजार ९ सय ३० जनामा डेंगु संक्रमण देखिएको उल्लेख गरे ।

उनले भने, ‘सन् २००४ देखि २०२३ सम्म १९ वर्षको अवधिमा ८३ हजार ६८१ जनामा डेंगु संक्रमण देखिएको छ । पछिल्लो तथ्याङ्क अनुसार असार ३० सम्म २ हजार नौ सय ३० जनामा डेंगु संक्रमण देखिएको छ ।’

मरासिनीले डेंगुको रोकथामका लागि संघ, प्रदेश र स्थानीय तहबिच समन्वय भइरहेको पनि बताए । सरकारको प्राथमिकता लामखुट्टे बस्ने ठाउँहरुको नष्ट गर्नु, घर आँगन, कार्यालय वरीपरी पानी जमेको ठाउँको नष्ट गर्नु रहेको बताए ।

लामखुट्टेको वृत्तिविकास खासगरी सफा र सङ्लो पानी जम्मा भएको ठाउँमा हुने बताए । अहिलेपनि देशभरका धेरै ठाउँहरुबाट केसहरु बढ्दै गएको उनको भनाइ छ । लामखुट्टेको वृत्तिविकास हुन नदिने वातावरणको सृजना गर्नुपर्ने आवश्यकता औंल्याए ।

उनले मनसुन बढेसँगै डेंगुका बिरामीको संख्या बढेको बताए । डा.मरासिनीले डेंगु रोकथाममा सरकार गम्भीर भएर लागेको बताए ।
लामखुट्टेलाई कसरी नियन्त्रण गर्ने भन्ने विषयमा आम नागरिकमा सचेतना पु-याउनुपर्ने पनि उनको भनाइ छ ।

डेंगु सरुवा रोग भएकाले आफ्नो ठाउँबाट सबैले सचेत भएर लाग्नुपर्ने उनले बताए । उनले अस्पतालहरु पनि शतर्क र सुदृढ हुन जरुरी रहेको बताए । ‘डेंगु रोकथाम नै नभएको भन्ने त होइन ।

यो सरुवा रोग हो । हामीले यसमा काम गरेनौं भने विकराल अवस्था आउँछ थाम्नै नसक्ने अवस्था आउँछ । अपेक्षाकृत रुपमा केस बढ्दै जानु भनेको हामी पनि सजग हुनुपर्छ र रोकथाममा काम गर्नुपर्छ भन्ने हो ।

अस्पतालहरु पनि सुदृढ हुन जरुरी छ । उपचार पनि सहज हुन जरुरी छ । बिरामीहरुलाई रगतको अभाव हुन दिनु हुँदैन । डेंगुको रोकथाममा स्थानीय तह र आम मानिसको योगदान नै बढी हुने हुनाले जबसम्म उहाँहरु सचेत हुनुहुन्न, डेंगु बिरामी सार्ने लामखुट्टेको वृत्ति विकास कसरी हुन्छ ? र, लामखुट्टेलाई कसरी हामीहरुले नियन्त्रण गर्ने भन्ने विषयमा आम जनताहरुको सचेतना पुग्दैन । तवसम्म नियन्त्रणको काम जटिल हुन्छ’ उनले भने ।

डेंगु संक्रमणको पछिल्लो अवस्थाबारे न्युज एजेन्सी नेपालीसँग कुरा गर्दै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले डेंगु रोकथामका लागि ‘लार्भा खोज र नष्ट’ अभियान सञ्चालन गर्नुपर्ने बताए ।

डा.पुनले डेंगु रोकथाममा केन्द्र सरकारले नेतृत्वदायस् भुमिका निर्वाह गर्नुपर्ने बताए । उनले तीन तहकै सरकारबीच समन्वय र सहकार्य गरेर अघि बढ्ने हो भने मात्रै डेंगुको संक्रमण थप फैलिनबाट रोक्न सकिने बताए ।

सामान्यतया डेंगु वर्षा र वर्षापछिको समयमा बढी देखिन्छ । नेपालमा सन् २००४ मा डेंगु संक्रमण पुष्टि भए यता लगातार बढीरहेको छ । गत वर्ष नेपालको इतिहासमा सबैभन्दा बढी मानिस डेंगुबाट संक्रमित भएका थिए । डेंगु संक्रमण तराईबाट पहाड हुँदै अहिले हिमालमा पनि केही केसहरु देखिने गरेको पुनले बताए ।

डेंगुले केही समययता प्रकोपको रुप लिइरहेको र आगामी वर्ष झनै जोखिम बढ्ने डा.पुनको भनाइ छ । उनले भने, ‘सन् २००४ मा सर्वप्रथम एक जनामा डेंगु देखियो । तत्पश्चात हरेक दुई तीन वर्षको अन्तरालमा यसले प्रकोपको रुपमा लिइरहेको छ । आगामी वर्षपनि डेंगुको जोखिम हुने तथ्याङ्कहरुले देखाइरहेका छन् ।’

डेंगु लागेपछि घरमा बसेर पनि आराम गर्न सकिन्छ । तर चिकित्सक वा अस्पतालमा सम्पर्क गरेपछि रगतको जाँच गर्नुपर्ने हुन्छ । एक हप्तापछि रगतमा देखिने उतारचढाव सुधार भएर जाने गर्छ ।

प्रकाशित मिति: Jul 19, 2023

प्रतिक्रिया दिनुहोस्