Logo
६ बैशाख २०८१, बिहीबार
(June 6, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकी राष्ट्रपतिको उम्मेदवार बन्ने दौडमा पूर्वउपराष्ट्रपति पेन्सको इन्ट्री

पूर्वअमेरिकी उपराष्ट्रपति माइक पेन्सले रिपब्लिकन पार्टीबाट आगामी राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार बन्नका लागि आधिकारिकरुपमा दस्ताबेजहरू दर्ता गराएका छन् । रिपब्लिकन पार्टीबाट उम्मेदवार बन्नका लागि यसअघि नै थुप्रै नेताहरूले घोषणा गरिसकेका छन् ।

६३ वर्षीय पेन्सले बुधबार आईओवाको टाउनहलमा एक कार्यक्रमको आयोजना गरी भिडियो सम्बोधनमार्फत औपचारिकरुपमा आफ्नो उम्मेदवारी घोषणा गर्ने बताइएको छ । योसँगै उनी सन् २०१७–२१ सम्म ह्वाइट हाउसमा सहकार्य गरेका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध उभिने भएका छन् ।

उम्मेदवार बन्ने दौडमा अन्य आकांक्षीहरुको तुलनामा पूर्वराष्ट्रपति ट्रम्प सबैभन्दा अघि रहेका छन् । सर्वेक्षणमा पेन्स एकल अंकको समर्थनसहित तेस्रो स्थानमा छन् । इन्डियानाका पूर्वगभर्नरसमेत रहेका पेन्स ट्रम्पसँग निकट रहेका थिए । तर, सन् २०२१ को जनवरीमा क्यापिटोलमा भएको दंगापछि उनी ट्रम्पबाट टाढिएका थिए ।

अब रिपब्लिकन पार्टीबाट उम्मेदवारका आकाङ्क्षीहरूले आगामी महिनादेखि आफ्नो चुनावी अभियान सुरु गर्नेछन् भने शृङ्खलाबद्ध टेलिभिजन बहसमा सहभागी हुनेछन् । हरेक राज्यमा हुने ‘प्राइमरी इलेक्सन’ अर्को फेब्रुअरीबाट सुरु हुनेछ । सबैभन्दा धेरै समर्थन प्राप्त गर्ने व्यक्ति सन् २०२४ को रिपब्लिकन कन्भेन्सनबाट राष्ट्रपतिको उम्मेदवार चुनिनेछन् । सन् २०२४ को नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा रिपब्लिकन उम्मेदवारले सम्भावितरुपमा डेमोक्र्याटबाट वर्तमान राष्ट्रपति जो बाइडेनको सामना गर्नेछन् ।

 

प्रकाशित मिति: Jun 6, 2023

प्रतिक्रिया दिनुहोस्