Logo
१२ बैशाख २०८१, बुधबार
(June 1, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालबाट भारतले १० हजार मेगावाट बिजुली किन्ने घोषणा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने घोषणा गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा हैदरावाद हाउसमा सम्बोधन गर्दै मोदीले यस्तो घोषणा गरेका हुन् । प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपालले बिजुलीलाई प्राथमिक्तामा राखेको थियो । यसमध्ये नेपालले आगामी २५ वर्षमा १० हजार मेगावाट बिजुली किन्ने सम्झौता नै गर्न चाहेको थियो । नेपालमा उत्पादित बिजुलीलाई सहजरुपमा भारतीय बजारमा बेच्ने नेपालको चाहनामा भने सम्झौता भएको छैन ।

तर, नेपालको बिजुलीले दिर्घकालिनरुपमा भारतीय बजार खुल्ने विषयमा भने सम्झौता भएन् । यद्यपि, प्रधानमन्त्री मोदीले आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने घोषणा गरे । यसबारे सम्झौतापत्रमा हस्ताक्षर नभएपनि संयुक्त वक्तव्यमा बिजुली किन्ने विषय समेटियो भने यो नेपाली बिजुलीका लागि सबैभन्दा ठूलो सम्झौता हुनेछ । यतिबेला नेपाल वर्षायाममा बिजुली उत्पादनमा आत्मनिर्भर बनिसकेको छ । ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको निर्माण सम्पन्न भइ उत्पादन सुरु भएपछि नेपाल वर्षायाममा आत्मनिर्भर बनेको हो ।

सुख्खायाममा हालसम्म भारतसँगै निर्भर बन्नुपरे पनि आगामी २÷३ वर्षमा आत्मनिर्भर बन्ने नेपाल विद्युत प्राधिकरणको आकलन छ । यस्तो अवस्थामा हाल नेपालको राष्ट्रिय प्रसारण लाइनमा २७ सय मेगावाट बिजुली जोडिएको छ । यसमध्ये नेपालको सरदर खपत १५ सय मेगावाट हुन्छ । यस्तै, भारतले ४५३ मेगावाट बिजुली लग्न गत वर्षदेखि नै बाटो खोलिसकेको छ । तर, प्रत्येक वर्ष उक्त परिणामको बिजुली बेच्न अनुमति लिइरहनुपर्छ । यस्तो अवस्थामा प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपाली पक्षले दिर्घकालिन सम्झौताको चाहना राखेको छ ।

तर, नेपाली पक्षले मूख्य एजेन्डा बनाएको दिर्घकालिन सम्झौतामा भारतीय प्रधानमन्त्रीले आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने घोषणा गरे । हैदराबाद हाउसमा संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘आगामी १० वर्षमा भारतले नेपालबाट १० हजार मेगावाट बिजुली किन्छ ।’

यसबाहेक, प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा तल्लोअरुण र फुकोट कर्णाली परियोजना विकासका लागि सम्झौता समेत भएको छ । ६६९ मेगावाट क्षमताको तल्लो अरुण परियोजना विकास सम्झौता (पीडीए) भएको छ भने ४८० मेगावाट क्षमताको फुकोट कर्णालीको सम्बन्धमा द्वीपक्षीय सम्झौता (एमओयू) भएको छ ।

प्रकाशित मिति: Jun 1, 2023

प्रतिक्रिया दिनुहोस्