Logo
११ बैशाख २०८१, मंगलबार
(May 18, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

क्वार्टरफाइनलमै हारे २२ पटकका ग्रान्डस्लाम च्याम्पियन योकोभिच

प्रभावशाली सर्बियन खेलाडी नोभाक योकोभिच इटालियन ओपन टेनिसको क्वार्टरफाइनलमै पराजित भएका छन् । पहिलो बरियतामा आसिन योकोभिचलाई क्वार्टरफाइनलमा डेनमार्कका २० वर्षीय युवा खेलाडी होल्गर रुनेले हराएका हुन् ।

सातौं वरीयताका होल्गर उक्त खेलमा ६-२, ४-६, ६-२ अंकले विजयी भए । इटालियन ओपनलाई निकट भविष्यमा सुरु हुने ग्रान्डस्लाम प्रतियोगिता फ्रेन्च ओपनको तयारीका रुपमा लिइन्छ । फ्रेन्च ओपनअघि ३५ वर्षीय योकोभिचको पराजय यतिबेला विश्व टेनिसमा चर्चाको विषय बनेको छ ।

फ्रेन्च ओपन मे २८ तारिखमा सुरु हुँदैछ । योकोभिचले हालसम्म २ पटक फ्रेन्च ओपनको उपाधि जितेका छन् । उनले सन् २०१६ र सन् २०२१ मा फ्रेन्च ओपन जितेका थिए । उनले सबैभन्दा कम उपाधि जितेको ग्रान्डस्लाम प्रतियोगिता पनि फ्रेन्च ओपन नै हो ।

योकोभिच सन् २०१३ पछि पहिलो पटक इटालियन ओपनको क्वार्टरफाइनलमा पराजित भएका हुन् । योकोभिच कीर्तिमानी रुपमा २२ पटक ग्रान्डस्लाम प्रतियोगिताको एकल उपाधि जित्ने खेलाडी हुन् । उनसँगै राफेल नाडालले पनि २२ पटक ग्रान्डस्लामको एकल उपाधि जितेका छन् ।

उनले हालसम्म ६ पटक इटालियन ओपनको उपाधि चुमेका छन् । प्रतियोगिताको सेमिफाइनलमा अब होल्गरले चौथो वरीयतामा आसिन नर्वेजियन खेलाडी कास्पर रुडको सामना गर्नेछन् । योकोभिच पछिल्लो केही समययता घाइते समस्याबाट पीडित छन् ।

आफ्नो कुइनोको समस्याका कारण उनले हालै म्याड्रिड ओपन पनि खेल्न सकेनन् । योकोभिच यसपटक फ्रेन्च ओपनको उपाधि जितेर नाडाललाई पछि पार्ने धुनमा थिए । तर, प्रतियोगिता सुरु हुनुअघि नै उनको लय खस्किएको छ ।

प्रकाशित मिति: May 18, 2023

प्रतिक्रिया दिनुहोस्