Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 17, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रवि लामिछानेको रास्वापा जस्तै थाइल्यान्डमा नयाँ पार्टी ‘एमएफपी’ को उदय

नेपालमा रवि लामिछानेको नेतृत्वमा थोरै समयमा स्थापित भएको रास्वापा जस्तै थाइल्यान्डमा पुराना दललाई उछिन्दै मुभ फरवार्ड पार्टी (एमएफपी) ले पहिलो स्थान हासिल गरेको छ ।

४२ वर्षीय युवा पिटा लिमजार्‍याटको नेतृत्वमा रहेको उक्त दल ३ वर्षअघि स्थापना भएको हो । गत आइतबार त्यहाँ सम्पन्न भएको निर्वाचनमा सेनानिकट पुरानालाई हराउँदै एमएफपी पहिलो दल बन्न सफल भएको हो ।

सन् २०२० मा गठन भएको प्रगतिशील पार्टी एमएफपीले ५ सय सदस्य हुने संसद्को निर्वाचनमा १५२ सिट जितेको हो । २० वर्षदेखि चर्चित रहेको अर्को विपक्षी दल फेउ थाईले भने १४१ सिट जितेको छ ।

यी दुई दलले मिलेर थाइल्यान्डमा सरकार बनाउने सम्भावना छ । वर्तमान प्रधानमन्त्री प्रयुत चान-ओचा नेतृत्वको सत्तारूढ दल युनाइटेड थाई नेसन पार्टी (यूटीएन) ले यस चुनावमा ३६ सिट मात्र जितेको छ ।

एक दशकयता सेनाको समर्थनप्राप्त पुराना दलहरूले थाइल्यान्डमा शासन गर्दै आएका थिए । ती पार्टीलाई यस पटकको निर्वाचनमा पनि जनताले शासनका लागि अयोग्य ठहर गरेका छन् ।

यसअघि भएका निर्वाचनमा पनि थाई जनताले सेनाको विपक्षमा रहेका दललाई मत दिँदै आएका थिए । तर, सेनाले सरकार गठनमा हस्तक्षेप गर्दा जनमत प्राप्त दल जहिल्यै बाहिर बस्नुपरेको थियो ।

सेनाको हालिमुहाली हुने भएकाले हालै भएको निर्वाचनपछि पनि थाइल्यान्डको नेतृत्व कसले गर्छ भन्ने स्पष्ट हुन सकेको छैन । यसो हुनुको कारण हो, सन् २०१४ मा सेनाको ‘कू’ पछि संविधानको पुनर्लेखन ।

अन्य दलले लोकप्रिय मत हासिल गरे पनि सरकार गठनमा सेनाले आफ्नो भूमिका निर्णायक हुने गरी संविधानमा परिमार्जन गरेको छ ।सरकार बनाउनका लागि ३७६ सिटको आवश्यकता पर्छ ।

तर, यसका लागि विपक्षी दलले ठूलो गठबन्धन बनाउनुपर्नेछ । सरकार बनाउन संसदमा मतदान हुनेछ । थाइल्यान्डमा २५० सिटमा सेनाले चुनेका सांसदको सदन हुनेछ । जसका कारण विपक्षी दललाई बहुमत जुटाई प्रधानमन्त्री चयन गर्न कठिन हुनेछ ।

निर्वाचनबाट तल्लो सदनका ५०० सिटका लागि प्रतिस्पर्धा भएको हो, जसमध्ये ४०० प्रत्यक्ष निर्वाचित हुन् । बाँकी समानुपातिक प्रतिनिधित्व प्रणालीअनुसार बाँडफाँट गरिएको छ ।

सन् २०१९ को निर्वाचनमा फेउ थाई पार्टी पहिलो बने पनि प्रयुत चान-ओचाको पार्टीको गठबन्धनले संसद्मा सरकार बनाउन आवश्यक मत पाएको थियो ।

सन् १९३२ यता दर्जनौं पटक थाइल्यान्डमा ‘कू’ भएको छ, जसका कारण सांसदलाई प्रतिबन्ध, पार्टी खारेज र निर्वाचित सरकारको बहिर्गमन भएका थिए ।

निर्वाचन आयोग, भ्रष्टाचार नियन्त्रण आयोग, न्यायालय पनि सत्तानिकट नै भएका थिए ।

सन् २०२० मा युवाको नेतृत्वमा भएको प्रदर्शनपछिको यो पहिलो निर्वाचन हो भने सन् २०१४ मा भएको सैन्य ‘कू’ ले निर्वाचित सरकारलाई अपदस्थ गरेपछिको यो दोस्रो निर्वाचन हो ।

फेउ थाई नेता पेटोङ्टार्न सिनावात्राले एमएफपीलाई चुनावी सफलताका लागि बधाई दिँदै सबैभन्दा बढी मत प्राप्त गर्ने पार्टीले अर्को सरकारको नेतृत्व गर्न पाउने बताइन् । ‘हामी मुभ फरवार्ड’ सँग कुरा गर्न तयार छौं,’ उनले भनिन् ।

यो पार्टीले राजधानी बैंककमा ३३ मध्ये ३२ सिट जितेको छ । ‘आज नयाँ दिन हो र यो उज्यालो र आशाले भरिएको छ,’ जितपछि पिटाले भने, ‘यो युगको भावना परिवर्तन भएको छ र यो सही समय पनि हो ।’

सरकार बन्नका लागि अझै केही समय लाग्ने र यसमा सेनाको भूमिका महत्त्वपूर्ण हुने भए पनि यो निर्वाचनले पिटा र उनको पार्टीलाई भने स्थापित गरेको छ ।

उनी सन् २०१९ मा भएको निर्वाचनमा फ्युचर फरवार्ड पार्टीबाट सांसद निर्वाचित भएका थिए । यो पार्टी ट्यानाटोर्न जुङरुङकिटले गरेका थिए । उक्त चुनावमा यो पार्टी तेस्रो भएको थियो ।

तर, विभिन्न विवादका कारण उक्त पार्टी भंग भएपछि एमएफपी स्थापना भएको हो । त्यसपछि संविधान संशोधन, नयाँ निर्वाचनलगायत मागसहित पिटाकै नेतृत्वमा हजारौं युवा आन्दोलनमा उत्रिएका थिए ।

यही आन्दोलनको बलमा यसपटकको निर्वाचनमा एमएफपीले जनमत बटुल्न सफल भएको हो । एजेन्सी

प्रकाशित मिति: May 17, 2023

प्रतिक्रिया दिनुहोस्