Logo
५ जेष्ठ २०८१, शनिबार
(March 23, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पत्रकारहरुको सुरक्षाका लागि विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पत्रकार र सबै प्रकारका सञ्चारमाध्यमहरुको पेशागत तथा भौतिक सुरक्षाको प्रत्याभूतिका लागि स्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने घोषणा गरेका छन् ।

बिहीवार सामुदायिक रेडियो प्रसारक संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो घोषणा गरेका हुन् । उनले सम्पूर्ण पत्रकारहरुको स्वास्थ्य, दुर्घटना एवं हुलदंगा एवं आतंकको बीमा, साना लगानीमा सञ्चालित तथा मोफसलका सञ्चारमाध्यमको सञ्चालन र स्थायित्वको लागि स्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने बताए ।

उनले भने, ‘पत्रकार र सबै प्रकारका सञ्चारमाध्यमहरुको पेशागत तथा भौतिक सुरक्षाको प्रत्याभुति सम्पूर्ण पत्रकारहरुको स्वास्थ्य, दुर्घटना एवं हुलदंगा एवं आतंकको बीमा साना लगानीमा सञ्चालित तथा मोफसलका सञ्चारमाध्यमको सञ्चालन र स्थायित्वको लागि स्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गरिनेछ ।’

प्रधानमन्त्री दाहालले आम सञ्चारमाध्यमलाई सम्बन्धित भुगोलमा बसोवास गर्ने जनसंख्याप्रति लक्षित गरी राष्ट्रिय, प्रादेशिक वा स्थानीय गैरनाफामुलक वा व्यापारिक उद्देश्यका साथ सञ्चालित सञ्चारमाध्यम तथा स्वरोजगार साना, मझौला र ठूला लगानीका आधारमा वर्गीकरण गरी सुविधा प्रदान गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

उनले भने, ‘आम सञ्चारमाध्यमलाई सम्बन्धित भुगोलमा बसोवास गर्ने जनसंख्याप्रति लक्षित गरी राष्ट्रिय, प्रादेशिक वा स्थानीय गैरनाफामुलक वा व्यापारिक उद्देश्यका साथ सञ्चालित सञ्चारमाध्यम तथा स्वरोजगार साना, मझौला र ठूला लगानीका आधारमा वर्गीकरण गरी सुविधा प्रदान गरिनेछ । सञ्चारकर्मीहरुको सीप तथा दक्षता अभिवृद्धि र अध्यावधिक गर्न एवं उच्चतम व्यवसायिक अभ्यासका लागि प्रेरित गर्न संघ र प्रदेश तहमा आम सञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्न सरकार प्रतिवद्ध रहेको जानकारी गराउँछु ।’

सञ्चारकर्मीहरुको सीप तथा दक्षता अभिवृद्धि र अध्यावधिक गर्न एवं उच्चतम व्यवसायिक अभ्यासका लागि प्रेरित गर्न संघ र प्रदेश तहमा आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्न सरकार प्रतिवद्ध रहेको जानकारी समेत उनले दिए ।

उनले वर्तमान सरकार सञ्चारमाध्यमको व्यवसायिक र संस्थागत विकासका लागि मिडियालाई राष्ट्रिय सेवामुलक उद्योग सरह मान्यता प्रदान गरी संरक्षण र संवद्र्धनको नीति लिँदै आम सञ्चारमाध्यममा सबै वर्ग, क्षेत्र, जाति, भाषा र समुदायको पहुँच बढाउने गरी समावेशी, लोकतान्त्रिक सूचना तथा सञ्चार नीति जारी गर्न प्रतिवद्ध रहेको जिकिर गरे ।

उनले प्रेससम्बन्धी आवश्यक कानूनहरुको निर्माण र अधिकार प्रत्यायोजनको व्यवस्थित प्रारुप तयार गर्ने जिम्मेवारीलाई गम्भीरतापूर्वक लिँदै नीतिगत र कानूनी रुपमा देखिएका समस्या र उल्झनहरु सुल्झाउन सरकारको तर्फबाट आवश्यक सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रधानमन्त्री दाहालले नेपालको संविधानले रेडियो सञ्चालक एवं नियमनको जिम्मेवारी तहगत रुपमा संघ, प्रदेश र स्थानीय तहलाई प्रत्यायोजित गरेको भएपनि संविधानमा व्यवस्था गरिएका एकल र साझा अधिकार सूचीको प्रभावकारी कार्यान्वयनका निम्ति नीतिगत र कानूनी प्रावधानहरु पर्याप्त नभएको बताए ।

उनले भने, ‘नेपालको संविधानले रेडियो सञ्चालक एवं नियमनको जिम्मेवारी तहगत रुपमा संघ, प्रदेश र स्थानीय तहलाई प्रत्यायोजित गरेको छ तर संविधानमा व्यवस्था गरिएका एकल र साझा अधिकार सूचिको प्रभावकारी कार्यान्वयनका निम्ति नीतिगत र कानूनी प्रावधानहरु भने पर्याप्त छैन । प्रेससम्बन्धी आवश्यक कानूनहरुको निर्माण र अधिकार प्रत्यायोजनको व्यवस्थित प्रारुप तयार गर्ने जिम्मेवारीलाई गम्भीरपूर्वक लिँदै नीतिगत र कानूनी रुपमा देखिएका समस्या र उल्झनहरु सुल्झाउन सरकारको तर्फबाट आवश्यक सहजीकरण गर्ने प्रतिवद्धता जनाउँछु ।’

प्रधानमन्त्री दाहालले प्रेस स्वतन्त्रता र सबलीकरणको सवालमा नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग हुने प्रतिवद्धता समेत जनाए । उनले आफ्नो तेस्रो पटकको प्रधानमन्त्रीको जिम्मेवारीमा रहँदा वाक र प्रेस स्वतन्त्रतासँग सम्बन्धित केही विषयहरु थोरै विवादमा आउन थालेपछि आफूले प्रेस स्वतन्त्रताका पक्षमा पहल अघि बढाएको बताए ।

 

प्रकाशित मिति: Mar 23, 2023

प्रतिक्रिया दिनुहोस्