Logo
५ जेष्ठ २०८१, शनिबार
(February 26, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अहिले बनेको गठबन्धनबाट गुणात्मक परिवर्तन हुँदैन : नेता खनाल

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अहिले बनेको गठबन्धनबाट गुणात्मक परिवर्तनको अपेक्षा गर्न नसकिने बताएका छन् । नेता खनालले वामपन्थीहरू एक ठाउँमा आएको अवस्थामा मात्र परिवर्तन हुन सक्ने बताएका हुन् ।

आइतबार विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेता खनालले भने, ‘देश जुन तरिकाले अघि बढिरहेको छ, गठबन्धनहरू कति बेला, कसरी बन्ने हुन अहिले यसै भन्न सकिने अवस्था छैन । अहिले बनेको गठबन्धनबाट गुणात्मक परिवर्तन हुन्छ जस्तो मलाई लाग्दैन। अहिले नेपालका वामपन्थीहरू एक ठाउँमा आउने हो भने परिवर्तनको अवस्था छ । तर वामपन्थीहरूमा अर्कै रूप देखिन्छ ।’

उनले वामपन्थीहरुकाे बीचमा एकता हुन आवश्यक रहेको बताए । ‘तर उनीहरू भित्रै दक्षिणपन्थी छन् । त्यसैले नेकपा एकीकृत समाजवादीको तत्काल कुनै पार्टीसँग एकता हुने सम्भावना न्यून रहेको छ,’ खनालले भने ।

राष्ट्रपति निर्वाचनमा आफ्नो उम्मेदवार सहयोग गर्न माग गर्दै नेकपा एमालेले पठाएको पत्रबारे पार्टीमा छलफल गरेर निर्णय गरिने उनले बताए । ‘अहिले राष्ट्रपतिको मतका लागि पत्र आइरहेका छन् त्यो विषयमा हामी छलफल गर्छौँ,’ उनको भनाई थियो । पार्टीका अध्यक्ष माधव नेपालले भने एमालेका उम्मेदवारलाई मत हाल्न नसकिने स्पष्ट पारिसकेका छन् ।

उनले देश समाजवादी क्रान्तिमा अघि बढिरहेको बताउँदै आफ्नो पार्टी पनि त्यही दिशामा अघि बढिरहेको जिकिर गरे । नेपाली समाजवादको विशेष रूप कस्तो हुन्छ भन्ने विषयमा आफूहरू लागिरहेको उनले बताए । एकीकृत समाजवादीलाई बलियो लडाकु पार्टीको रूपमा स्थापित गर्नुपर्ने उनको भनाई छ ।

प्रकाशित मिति: Feb 26, 2023

प्रतिक्रिया दिनुहोस्