Logo
५ जेष्ठ २०८१, शनिबार
(February 24, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपतिमा काँग्रेसलाई सहयोग गर्न प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ : सांसद महत

नेपाली काँग्रेसका सांसद एवं प्रवक्ता डा. प्रकाशशरण महतले नेपाली काँग्रेससहित बसेको चार दलीय बैठकमा प्रधानमन्त्री राष्ट्रपतिमा नेपाली काँग्रेसको उम्मेदवारलाई सघाउने कुरामा सकारात्मक देखिएको बताएका छन् । शुक्रवार संसद् परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल काँग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्न सकारात्मक रहेको दाबी गरेका हुन् ।

सांसद महतले राष्ट्रपतिको निर्वाचनमा काँग्रेसको उम्मेदवारलाई अन्य दलहरूले पनि सहयोग गरुन् भन्ने अपेक्षा राखेको पनि बताए । उनले भने, ‘छलफल राष्ट्रपतिकै विषयमा हो । हामीले राष्ट्रपतिको निर्वाचनमा काँग्रेसको उम्मेदवारलाई अन्य दलहरूले सहयोग गरुन् भन्ने नै हाम्रो अपेक्षा हो । त्यसमा प्रधानमन्त्रीको पनि सकारात्मक कुरा नै थियो । अन्य दलहरूले पनि सकारात्मक कुरा नै गर्नुभएको छ । त्यसै सिलसिलामा पनि छलफल भएको छ, बेलुका पनि छलफल हुँदैछ । आज बेलुकासम्म त्यहाँबाट एउटा निष्कर्ष निस्किन्छ । भोलि त नोमिनेसन गर्नु नै छ । राष्ट्रपतिमा काँग्रेसको उम्मेदवारलाई समर्थन गर्दा सरकारको समर्थनमा कुनै समस्या आयो भने त्यसपछि यस विषयमा सोच्न सकिन्छ । माधवजी राष्ट्रपति पदको लागि अत्यन्त योग्य नेता पनि हुनुहुन्छ तर हामीले अहिले के भनेका छौँ भने नेपाली काँग्रेसबाट नै राष्ट्रपति बन्नुपर्छ भनेर भन्दै आएका छौँ । त्यसमा उहाँको सहयोगको अपेक्षा गरेका छौँ ।’

सांसद महतले संविधानको रक्षाका लागि नेपाली काँग्रेसकै राष्ट्रपति हुनु आवश्यक रहेको बताउनु भयो ।

प्रकाशित मिति: Feb 24, 2023

प्रतिक्रिया दिनुहोस्