Logo
६ बैशाख २०८१, बिहीबार
(February 3, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोर्स करेक्शनमा प्रचण्ड : सिंहदरबारबाट सरकार र पेरिसडाँडाबाट पार्टी सञ्चालन

२०६२-०६३ पछि सरकारको नेतृत्व गर्ने अधिकांश प्रधानमन्त्रीले सिंहदरबार भन्दा पनि बालुवाटारलाई ‘मुकाम’ बनाएर शासन सत्ता चलाउने प्रयास गरे । यस कदमको विरोध र आलोचना भए पनि उनीहरुले त्यसलाई सुधारको अवसर ठानेनन् ।

पुर्वप्रधानमन्त्रीहरु गिरिजाप्रसाद कोइरालादेखि सुशील कोइराला हुन् वा केपी ओली र शेरबहादुर देउवा नै किन नहुन् ? उनीहरुले मन्त्रिपरिषद्का बैठकदेखि पार्टीका बैठक समेत बालुवाटारमै राख्ने गरेका थिए । तर, २०७९ मङ्सिरमा भएको आम निर्वाचनपछि प्रधानमन्त्री बनेका माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल‘प्रचण्ड’ ले यो प्रवृत्तिलाई भङ्ग गरे ।

प्रचण्ड प्रधानमन्त्री भएको शुक्रबार ४० दिन भएको छ । गत पुस १० गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रचण्डले त्यसको भोलिपल्ट पुस ११ गते शपथ लिएका थिए ।

प्रधानमन्त्री भए लगत्तै प्रचण्डले पहिलो मन्त्रिपरिषद्को बैठक सिंहदरबारमै राखे । कतिपयले प्रचण्डको उक्त प्रयासलाई केही दिनमात्र त होला नि ? भनेर आशङ्का गरेका थिए । हुन त आफू प्रधानमन्त्री भएपछि सरकार सिंहदरबारबाट र पार्टी पेरिसडाँडाबाट चलाउने उद्घोष प्रचण्डले नगरेका होइनन् । सोही उद्घोष अनुसार नै अहिलेसम्म प्रचण्डले पार्टीको पदाधिकारी बैठक समेत पेरिसडाँडामै राखिरहेका छन् भने मन्त्रिपरिषद् बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्कै कार्यालयमा बसालेका छन् ।

तेस्रो पटक प्रधानमन्त्री भएका प्रचण्डको कार्यशैली पहिलो र दोस्रो कार्यकालको अभ्यासको निरन्तरता भएको माओवादी नेताहरूको भनाइ छ ।

प्रचण्डअघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र केपी शर्मा ओलीले अधिकांश पार्टी बैठक र भेला समेत प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाटै चलाएका थिए । त्यसो गर्दा पार्टीका बैठक र भेला सरकारी निवासमा गरेर राज्यको सम्पत्ति दुरुपयोग गरेको भन्दै चर्को आलोचना समेत हुने गरेको थियो । तत्कालीन नेकपाको केन्द्रीय समिति बैठक बालुवाटारमा बस्दा नेताहरूले आफ्नै पार्टीका प्रधानमन्त्री ओलीको चर्को आलोचना गरेका थिए । ती आलोचनालाई समेत मध्यनजर गर्दै प्रचण्डले बालुवाटारमा कुनै बैठक नराखेका हुन् ।

प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सेनाले सरकारका काम कारवाहीलाई प्रभावकारी बनाउन सिंहदवारबाट सरकार र पेरिसडाँडाबाट पार्टी चलाउने अभ्यासलाई प्राथमिकतामा राखेको बताए । सानो आकारको पदाधिकारी बैठक समेत पेरिसडाँडामा राखेर अध्यक्षले फरक सन्देश दिन खोजेको तिमिल्सेनाको भनाई छ ।

राज्यको निकायमा थिति बसाल्न प्रचण्डले निक्कै मेहनत गरेको नेताहरूले बताएका छन् । अहिलेको व्यवस्थाको मुख्य हकदार प्रचण्ड भएकाले व्यवस्थित र सुदृढीकरण गरेर जनतामा आशा जनाउन खोजेको नेताहरूको भनाई छ ।

प्रधानमन्त्री प्रचण्ड प्रशासनिक काम गर्न बालुवाटारबाट सिंहदरबार दैनिक जसो पुग्ने गरेको तिमिल्सेनाको भनाइ छ । ‘संहदरवारमा प्रायः प्रशासनिक काममा बढी केन्द्रित हुनुहुन्छ । राजनीतिक भेटघाट कम हुन्छन् । सरकारका मुख्यसचिव, प्रधानमन्त्री कार्यालयका सचिव, सहसचिव, विभागीय प्रमुख, मन्त्रालयका सचिव,आयोगका आयुक्तसँग कामको प्रगति कस्तो भयो ? काम कसरी हुँदै छ भन्ने विषयमा छलफल गर्दै आउनु भएको छ’ तिमिल्सेना भन्छन्– ‘यसअघि मुख्यसचिव नै सरकारी फाइल बोकेर बालुवाटार धाउने अवस्था थियो । अहिले प्रधानमन्त्रीज्यू आफै सिंहदरबार जानुहुन्छ ।’

यसअघिका प्रधानमन्त्रीले मुख्यसचिवलाई फाइल बोकेर बालुवाटार बोलाउँदा उनीहरुले अपमान जस्तो महसुस गर्ने गरेका थिए । तर, अहिले प्रधानमन्त्री आफै सिंहदरबार आएर प्रशासनिक काममा खटिन लाग्दा मुख्यसचिव सहित अरू सचिवलाई समेत सहज भएको बताइन्छ ।

बालुवाटारबाट सरकार चलाउँदा आफू प्रधानमन्त्री बढी परिचालन हुने गरेको भन्दै तिमल्सेनाले सिंहदरबार जाँदा राज्यका सबै निकाय सक्रिय हुने दाबी गरे ।

प्रकाशित मिति: Feb 3, 2023

प्रतिक्रिया दिनुहोस्