Logo
७ बैशाख २०८१, शुक्रबार
(January 31, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेताहरुको स्वार्थले लोसपा गठन भएको डेढ वर्ष बित्दापनि बनेन केन्द्रीय समिति

महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल ९लोसपा० गठन भएको डेढ वर्ष बितिसक्दा पनि केन्द्रीय समिति बन्न सकेको छैन । डेढ वर्षदेखि लोसपा केन्द्रीय समिति बिनै सञ्चालन भइरहेको हो ।

जनता समाजवादी पार्टी नेपाल ९जसपा०बाट अलग भएर ठाकुरले २०७८ भदौ २ गते निर्वाचन आयोगमा लोसपा दर्ताका लागि निवेदन दिएका थिए । भदौ ९ गते दलको मान्यता प्राप्त गर्दा आयोगमा ३३ सदस्यीय कार्यकारिणी समिति सदस्यको नामावली बुझाइएको थियो ।

हालसम्म सोही समितिबाट पार्टी सञ्चालन भइरहेको हो । ३३ सदस्यीय कार्यकारिणी समितिमा रहेका नेताहरूमध्ये तीन जनाले त पार्टी नै छाडिसकेका छन् । विधानअनुसार कार्यकारिणी समिति ५२ सदस्यीय रहेको भनिएकामा त्यसलाई समेत पार्टीले पूर्णता दिन सकेको छैन ।

पार्टी गठन भएपछि स्थानीय तह, प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनाव सम्पन्न भइसकेको छ । दुईवटा सरकारलाई सो पार्टीको समर्थन पनि छ । तर पार्टीको केन्द्रीय समितिसँगै कुनै निकाय, विभाग, समितिहरू पनि बन्न सकेको छैन ।

भ्रातृ सङ्गठनहरूको नामकरण भएको छ तर सङ्गठन विस्तार भएको छैन । केही प्रदेश तथा जिल्ला कमिटी बनाइएको छ । तर सबै जिल्ला तथा प्रदेशले पूर्णता पनि पाएको छैन । बेलाबेला केन्द्रीय समिति बनाउनेबारे पार्टीमा कुरा उठे पनि कार्यान्वयन हुन नसकेको छैन ।

लोसपामा एक जना अध्यक्ष भए पनि विगतको राजपाको अध्यक्ष मण्डलमा जस्तै चार जनामा भागबन्डा हुने गरेको छ । राजपा हुँदा छ जनाको अध्यक्ष मण्डल थियो । त्यसमध्ये महेन्द्र राय यादव र राजकिशोर यादव अन्य पार्टीमा गइसकेका छन् ।

तत्कालीन राजपामा रहेका अध्यक्ष मण्डलको सदस्यमध्ये महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा लोसपामा रहेका छन् । लोसपामा यिनै चारजनाको बीचमा हरेक कुराको भागबन्डा हुने गरेको छ । लोसपाका एक जना कार्यकारिणी सदस्यले भने, ‘राजपाको अध्यक्ष मण्डल लोसपामा ब्युँतिएजस्तो छ, अध्यक्ष मण्डलका कारण राजपा जसरी ठिकसँग चलेन, त्यस्तै हालत अहिले लोसपाको भएको छ ।’

प्रकाशित मिति: Jan 31, 2023

प्रतिक्रिया दिनुहोस्