Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 18, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेस प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । उनलाई सत्तारुढ गठबन्धनमा रहेका नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जसपा नेपाल, जनमत पार्टी लगायतले विश्वासको मत दिने निर्णय गरिसकेका छन् ।

नेकपा एकीकृत समाजवादीले समेत मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने भएको छ । प्रतिपक्षमै रहेर पनि मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय भएको नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता गोविन्द न्यौपानेले जानकारी दिए ।

‘अहिलेको अवस्थामा प्रदेशसभामा कुनै पनि दलको प्रस्ट बहुमत छैन,’ उनले भने, ‘त्यसैले हामीसँग धेरै विकल्प पनि छैन । यो अवस्थामा मुख्यमन्त्रीलाई विश्वासको मत दिन उचित ठानेर सोही अनुसारको निर्णय गरेका छौं ।’ उनले आफूहरु सरकारमा भने सामेल नहुने बताए ।

यस्तै, अर्को प्रतिपक्षी दल नेपाली कांग्रेस भने मुख्यमन्त्रीलाई विश्वासको मत दिने कि नदिने भन्नेमा अझै प्रस्ट भइसकेको छैन । कांग्रेस संसदीय दलका नेता कृष्ण यादवले भने, ‘हामी छलफलको क्रममै छौं, कुनै निर्णयमा पुगिसकेका छैनौं ।’ विश्वासको मत दिने बेलासम्म एउटा निष्कर्षमा पुगिने उनको भनाइ थियो ।

प्रदेशसभाको बैठक दिउँसो १ बजे बस्ने कार्यतालिका छ । उक्त बैठकमा मुख्यमन्त्रीले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने र दलीय आधारमा उक्त प्रस्तावमाथि छलफलपछि मत विभाजन हुने जनाइएको छ ।

प्रकाशित मिति: Jan 18, 2023

प्रतिक्रिया दिनुहोस्