Logo
६ बैशाख २०८१, बिहीबार
(January 13, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गण्डकीका मुख्यमन्त्री खगराजले पाए विश्वासको मत

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएका छन् । नेकपा एमालेका २१, माओवादी केन्द्रका ८ र राप्रपाका २ गरी ३१ जना सांसदले खगराजको पक्षमा मत हालेका छन् भने नेपाली कांग्रेसका २७ सांसदले विपक्षमा मतदान गरेका छन् ।

प्रदेशसभाको अध्यक्षता गरेका एमालेबाटै निर्वाचित ज्येष्ठ सदस्य मित्रलाल बस्यालले मतदानमा भाग लिएनन् ।

स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) भने प्रदेशभा बैठकमा अनुपस्थित रहे । मनाङेले मन्त्री नबन्ने संकेत पाएपछि बिहीबार खगराजलाई विश्वासको मत नदिने र प्रतिपक्षमा बस्ने बताएका थिए । एमाले संगठन विभाग प्रमुख खगराजलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले २५ पुसमा मुख्यमन्त्री नियुक्त गरेका थिए ।

संघमा पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेसलाई गण्डकीमा पनि खगराजले आफूलाई विश्वासको मत दिन पत्र नै लेखेर अपिल गरेका थिए । तर, शुक्रबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले विश्वासको मत नदिएर प्रतिपक्षमा बस्ने निर्णय गर्‍यो ।

सत्ता गठबन्धनमा भएको सहमति अनुसार गण्डकीमा खगराज प्रदेशसभाको ५ वर्षे कार्यकालको पूरा समय मुख्यमन्त्री रहने छन् । तर, माओवादी संसदीय दलका नेता तथा खगराजको पहिलो मन्त्रिपरिषदका सदस्य हरिबहादुर चुमानले गण्डकीमा पनि आलो पालो नै हुने दाबी गरिरहेका छन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल एमालेलगायतको समर्थनमा प्रधानमन्त्री बन्ने र प्रदेशमा खगराज एमाले संसदीय दलको नेता बन्नु एकै बेला पर्‍यो ।

फेरि प्रदेशमै दोहोरिन चाहेका एमाले उपमहासचिव तथा पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई उछिनेका खगराजले भने टिकट संघकै चाहेको बताउँदै आएका थिए ।

२०७० सालमा सांसद नभएरै पनि शुसील कोइराला नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका खगराज नेकपा विवाद चरम उत्कर्षमा हुँदा १३ दिने गृहमन्त्री बनेका थिए ।

०४८ सालदेखि चुनाव लडेका खगराज यसपटक कास्की–१ ९१०मा माओवादीका दीपक कोइरालालाई हराउँदै सांसद बनेका हुन् ।

२०४८ यता ६ वटा निर्वाचन लडेका खगराजले ३ पटक जितेका छन् । २०४८ मा रातानाथ रानाभाटसँग पराजित अधिकारीले २०५१ को उपनिर्वाचनमा उनैलाई हराएका थिए । २०७४ सालको आम चुनाव जितेका खगराजले २०४८, २०५६ र २०६४ मा हार व्यहोरका थिए ।

स्वतन्त्र विद्यार्थी युनियनको केन्द्रीय सदस्य र पोखराको पृथ्वीनारायण क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको स्ववियु सभापति हुँदै राजनीतिक सिंढी उक्लिँदै गएका खगराज २०६५ सालमा नेकपा एमालेको केन्द्रीय सदस्य चुनिएका थिए । दशौं महाधिवेशनबाट उनी स्थायी कमिटी सदस्यतथा संगठन विभाग प्रमुख छन् ।

गण्डकी प्रदेशमा तेस्रो मुख्यमन्त्री बनेका खगराजले विश्वासको मत पाएसँगै उनले कस्ता कार्यक्रम र काम गर्छन् भन्ने धेरैको नजर उनीतिरै छ ।

प्रकाशित मिति: Jan 13, 2023

प्रतिक्रिया दिनुहोस्