Logo
१३ बैशाख २०८१, बिहीबार
(January 6, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालगन्जमा दादुराको प्रकोप फैलिएपछि स्वास्थ्यकर्मीले गुहारे स्थानीय सरकार

बाँकेको नेपालगन्जमा दादुराको प्रकोप फैलिएपछि नियन्त्रणका लागि स्वास्थ्यकर्मीहरुले स्थानीय सरकारलाई गुहारेका छन् । नेपालगन्ज उपमहानगरपालिकामा दादुरा रोग प्रकोपको रूपमा फैलिएपनि आवश्यक रणनीति बनाउन बसेको स्वास्थ्यकर्मीहरुको बैठकले नियन्त्रणका लागि स्थानीय सरकारलाई आग्रह गरेको हो ।

स्वास्थ्यकर्मीहरूले उपचारका लागि चाहिने सहयोग जुुुटाउन स्थानीय सरकारलाई पत्राचार समेत गरेका छन् । प्रकोपबाट नेपालगन्जमा साढे दुई वर्षका बालकको मृत्यु भएको छ ।

अहिलेसम्म ३० जनाभन्दा बढी यस रोगका बिरामी पत्ता लागेका छन् । जिल्ला स्वास्थ्य कार्यालयले एक सातादेखि दादुरा फैलिन थालेको जनाएको छ । यसको संक्रमणले प्रकोपको रूप लिएपछि उपचार तथा नियन्त्रणका लागि प्रयास थालेको कार्यालयले जनाएको छ ।

नेपालगन्ज–५ स्थित एउटै परिवारका चार बालबालिकामा दादुरा संक्रमण भएको स्वास्थ्यकर्मीले फेला पारेका थिए । अभिभावकले दादुराका बिरामी बालबालिकालाई लुकाएकाले उपचार तथा रोगको निदानमा ढिलाई भएको कार्यालयले जनाएको छ । उपमहानरका विभिन्न क्षेत्रमा संक्रमण फैलिएकाले जोखिम बढेको छ । स्वास्थ्य कार्यालयका अनुसार नेपालगन्ज–५, ७, ८, ९, १०, ११, १४, १५ र २२ नम्बर वडामा बिरामी पत्ता लागेका छन् ।

‘सक्रमित सबैजसो बिरामीलाई घरमै राखेर उपचार गरिँदै छ,’ स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनीता पौडेलले भनिन्, ‘स्वास्थ्यकर्मीको सम्पर्कमा नआउँदै एक जना बालकको मृत्यु भएको हो । अब अरू बिरामीको खोजी गर्दै दादुराविरुद्धको खोप लगाउने तयारीमा छौं ।’

दादुराविरुद्धको चार हजार ५०० डोज खोप आइपुगेको र जनशक्ति जुटाएर लगाउने थाल्ने उनले बताइन् । स्वास्थ्य कार्यालयले गत शनिबार पाँचजना बिरामीको नमुना संकलन गरेर परीक्षणका लागि काठमाडौं पठाएको थियो । जसमध्ये चार जनामा दादुरा पुष्टि भएको थियो । ती सबै चार जना एकै घरका थिए ।

सहरमा दादुरा देखिएपछि विश्व स्वास्थ्य संगठन, युनिसेफ, स्वास्थ्य कार्यालय, नेपालगन्ज उपमहानगरपालिकाको स्वास्थ्य शाखाको टोली निगरानीमा खटिँदै आएका छन् । यहाँ ९ महिनादेखि १५ वर्ष उमेर समूहमा दादुराको प्रकोप देखिएको छ ।

प्रकाशित मिति: Jan 6, 2023

प्रतिक्रिया दिनुहोस्