Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 3, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्वविद्यार्थीद्वारा दिक्तेल बहुमुखी क्याम्पसलाई पुस्तक सहयोग

दिक्तेल बहुमुखी क्याम्पसका पूर्व विद्यार्थीले दिक्तेल क्याम्पसलाई पुस्तक सहयाेग गरेका छन् । डा. धनप्रसाद सुबेदी नेतृत्वको दिक्तेल बहुमुखी क्याम्पस पूर्वविद्यार्थी मञ्चले क्याम्पसलाई २४ हजार ६ सय ४१ रुपैयाँ बराबरको पुस्तक प्रदान गरेको हो ।

विभिन्न दाताबाट जुटाइएको २३ प्रकारका एक सय आठ थान पुस्तक मञ्चका उपाध्यक्ष राजेन्द्र राईले क्याम्पस सञ्चालक समितिका अध्यक्ष देबीप्रसाद रिजाललाई मंगलबार  हस्तान्तरण गरेका हुन् । विद्यार्थीलाई पाठ्यक्रम र सन्दर्भ सामग्रीका रुपमा उपयोग हुने पुस्तकहरू संकलन गरी प्रदान गरेकाे मञ्चले जनाएको छ ।

मञ्चले साझा कथा, नासो, ऋतुविचार, राजेश्वरी, सुलोचना, नरेन्द्र दाई, लक्ष्मी निबन्ध संग्रह, भाषा पाठ्याक्रम, प्रयोगित भाषा विज्ञानलगायत पुस्तक प्रदान गरेको छ । मुन्धुम अध्येता भोगीराज चाम्लिङ, डा. बिष्णुकुमार सिंजाली, बम बानियाँ र राजुविक्रम चाम्लिङको सहयोगमा क्याम्पसका लागि पुस्तक जुटाएको मञ्चका उपाध्यक्ष राईले बताए ।

क्याम्पसलाई पुस्तक उपलब्ध गराएकामा क्याम्पस सञ्चालक समितिका अध्यक्ष रिजाल र क्याम्पस प्रमुख हिराकुमार राईले धन्यवाद ज्ञापन गरेका छन् । पुस्तक हस्तान्तरण कार्यक्रममा संविधानसभा सदस्य दुर्गाजयन्ती राई, प्राध्यपक, जनप्रतिनिधि, पत्रकारलगायतको उपस्थिति रहेको थियो ।

०३७ सालमा त्रिविबाट सम्बन्धन प्राप्त गरेको दिक्तेल बहुमुखी क्याम्पसमा ०७० सालदेखि स्नातकोत्तर तहको कक्षा सुरु गरिएको हो । जिल्लाकै ज्येष्ठ र अग्रणी दिक्तेल क्याम्पसमा खोटाङबाहेक ओखलढुंगा, सोलुखुम्बु र भोजपुरका विद्यार्थी समेत अध्ययन गर्न आउने गरेका छन् । हाल साँढे आठ सय विद्यार्थी अध्ययनरत क्यम्पसलाई क्युएएको प्रकृयामा अघि बढाइसकिएको छ ।

प्रकाशित मिति: Jan 3, 2023

प्रतिक्रिया दिनुहोस्