Logo
१२ बैशाख २०८१, बुधबार
(December 28, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ABP News मा प्रधानमन्त्री प्रचण्डको अन्तरर्वाता : ‘म प्रोनेपाल वाला लाइनमा जान चाहन्छु’ (हेर्नुस् भिडियो)

ABP News मा प्रधानमन्त्री प्रचण्डको अन्तरर्वाता : ‘म प्रोइन्डियन वा प्रोचाइनिज होइन, प्रोनेपाल वाला लाइनमा जान चाहन्छु’

हेर्नुस् भिडियो :


नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले भारतसँग नेपालको राम्रो सम्बन्ध चाहेको बताएका छन् । एबीपी न्यूजसँग विशेष कुराकानीमा प्रचण्डले भने, ‘म भारत विरोधी होइन, पुराना विवाद बिर्सेर अगाडि बढ्छु ।’

ABP News का सिनियर सम्पादक दिबाङ्ग र नेपाल संवाददाता वीरेन्द्र केएमसँग प्रधानमन्त्री प्रचण्डले उक्त अन्तरवार्ता दिएका हुन् ।

प्रचण्डले प्रधानमन्त्रीमा निर्वाचित भएकोमा आफूलाई सर्वप्रथम भारतीय राजदूतले बधाई दिएको पनि खुलाए । त्यसपछि प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट गर्दै नेपाल र भारतबीचको सम्बन्धलाई थप मजबुत बनाउने कुरा गरेका थिए ।

‘प्रधानमन्त्री मोदी मलाई बधाई दिने पहिलो प्रधानमन्त्री हुन्,’ उनले भने । उनले पछिल्लो पटक भारत जाँदा पनि दुई देशबीचको सम्बन्धलाई मजबुत बनाउने कुरा भएको पनि सुनाए ।

प्रचण्डले भने, ‘दुवै देश एकअर्कासँग राम्रो सम्बन्ध चाहन्छन् । भारतसँग मिलेर काम गर्नेछौँ ।’ कुराकानीमा प्रचण्डले दुई देशबीच कुनै समस्या भए वार्ताबाट समाधान गरिने बताए । ’विगतमा पनि वार्ताबाटै समस्या समाधान हुँदै आएको छ ।’

भारत र चीनबीच सम्बन्धलाई ब्यालेन्स गर्ने सन्दर्भमा प्रचण्डले भने, ‘म प्रो नेपालको लाइनमा जान चाहन्छु । भारतलगायत सबै छिमेकी मित्र राष्ट्रहरूसँग मिलेर काम गर्नेछौँ ।

पहिले प्रोइन्डियन, प्रोचाइनिज, प्रोअमेरिक भनेर राजनीतिलाई विभाजित गराउने गलत परम्परा थियो । तर संघीय लोकतान्त्रिक गणतन्त्र भएपछि हामी नेपाली जनता र राष्ट्रप्रति बफादार रहनुपर्छ, उनीहरुको हितलाई प्राथमिकता दिनुपर्छ र मित्र राष्ट्रको सहयोग जुटाएर नेपाली जनताको विकास र समृद्धिको यात्रालाई अघि बढाउनुपर्छ ।’

विदेश यात्राबारे सोधेको प्रश्नमा प्रचण्डले आफूलाई पहिले जहाँबाट भ्रमणको निम्तो आउँछ, त्यहाँ नै आफू जाने कुरा सुनाए । मंगलबार नै भारतीय विदेश सचिव विनयमोहन क्वात्रासँग कुराकानी भएको खुलाउँदै उनले आफ्नो मेरो पहिलो भ्रमण भारत हुनसक्ने पनि बताए ।

फरक प्रसङ्गमा प्रधानमन्त्री प्रचण्डले निर्वाचनले दिएको जनादेश अनुसार मुलुकमा सरकार गठन भएको बताए । उनले भने, ‘जनताको सबै मिलेर काम गरोस् भन्ने चाहना थियो, त्यसैले मिलेर सरकार बनायौँ । हाम्रो सरकारले आफ्नो कार्यकाल पूरा गर्नेछ ।

संविधानबमोजिम काम गर्छ ।’ उनले नेपालको राजनीतिक दलमा सङ्घर्ष र एकताको चरित्र पनि रहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्