Logo
३ जेष्ठ २०८१, बिहीबार
(December 28, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पार्टीभित्रको ‘सानो गिरोह’को सत्तालिप्साले सबै गुमेको शेखर गगन समूहको निष्कर्ष

नेपाली कांग्रेसका शेखर कोइराला- गगन थापा समूहले सभापति शेरबहादुर देउवासहितको ‘सानो गिरोह’को सत्ता लिप्साले सबै गुमेको निष्कर्ष निकालेको छ ।

कांग्रेसका सो समूहको बुधबार बिहान राजधानीमा भएको भेलामा कोइराला र महामन्त्री गगन थापासहितका नेताहरू बुधबारको भेलामा सहभागी रहेका थिए । भेलामा अर्का महामन्त्री विश्वप्रकाश शर्मा र सांसद प्रदीप पौडेल भने अनुपस्थित थिए ।

शेखर- गगन समूहले प्रदेशमा आफ्नो पक्षबाट संसदीय दलको नेतामा कसलाई अघि सार्ने र पुस २२ मा हुने केन्द्रीय कार्य समितिको बैठकमा कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल गर्न बुधबार बिहान बैठक गरेको थियो ।

समूहका धेरै नेताहरु बाहिर भएकाले छलफललाई निरन्तरता दिने गरी बैठक सकिएको थियो । ‘सत्तालिप्सा, स्वार्थ केन्द्रित सानो गिरोहको धारणाले यो परिस्थिति आइपुग्यो,’ कांग्रेस नेता अर्जुननरसिंह केसीले भने, ‘संस्थागत निर्णय नहुँदा यस्तो अवस्थामा आयो भन्ने हाम्रो निष्कर्ष छ ।’

माओवादी केन्द्र र नेकपा एमालेबीच नयाँ सत्ता समीकरण बनेपछि कांग्रेस संघमा मात्रै नभएर प्रदेशमा पनि सबै प्रमुख पद गुमाउने अवस्थामा पुगेको छ ।

सभापति देउवाले प्रधानमन्त्री र राष्ट्रपति दुवै आफूले पाउनु पर्ने अडान राखेपछि माओवादी केन्द्र गठबन्धनबाट बाहिरिएको थियो ।

प्रधानमन्त्री दाहाल देउवासँग सरकार गठनबारे सहमति हुन नसकेपछि केपी ओलीसँग सहमति गर्न बालकोट पुगेका थिए । त्यसपछि शेखर-गगन समूहका नेताहरूले यस्तो अवस्था आउनुको पछाडि देउवा समूहका नेताहरू दोषी रहेको बताउँदै आएको छन् ।

थापाले भने सरकार गठनका विषयमा दाहालसँगको छलफलमा आफूहरूलाई नबोलाएको भन्दै यसअघि नै असन्तुष्टि जनाइसकेका थिए ।

एमालेसहितको सात राजनीतिक गठबन्धनबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बनेका छन् । एमाले र माओवादीबीच आधा आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।

 

प्रकाशित मिति: Dec 28, 2022

प्रतिक्रिया दिनुहोस्