Logo
१५ चैत्र २०८०, बिहीबार
(December 6, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मेलम्ची खोलाको पानी सुन्दरीजल आइपुग्यो : दैनिक १७ करोड लिटर वितरण गरिने

मेलम्ची खोलाको पानी सुन्दरीजल आइपुगेको छ। कार्यकारी निर्देशक कमलराज श्रेष्ठले पूर्व निर्धारित समयमा नै मेलम्चीको पानी वितरणको लागि पठाइने जानकारी दिए।

उनले भनेका छन्, ‘अब दैनिक १७ करोड लिटरका दरले लगातार ६ महिना सम्म खानेपानी आपूर्ति हुनेछ। साथै बाह्रै महिना मेलम्चीको पानी पथान्तरण सम्बन्धमा पनि तत्काल कार्यान्वयनको लागि प्रक्रिया अगाडि बढिरहेको छ।’

गत हप्ता मात्र मेलम्ची खानेपानी आयोजनाले काठमाडौंमा पानी वितरणका लागि अस्थायी बाँध बनाएर सुरुङमा पानी पठाउन सुरु गरिएको थियो । बाढीले क्षति पुगेको आयोजना स्थलमा बालुवा, ढुङ्गा लगायत हटाएर अस्थायी बाँध बनाएर पानी पठाउन सुरु गरिएको थियो । मङ्सिर १२ गतेदेखि २६ किलोमिटर लामो सुरुङमा मेलम्ची नदीको पानी पठाउने काम सुरु भएको आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले रातोपाटीलाई जानकारी दिए ।

प्रवक्ता पन्तले भने– ‘सुरुङ सफा गरेर पानी हाल्ने काम भएको छ । अब पानी प्रशोधन गरेर उपभोक्ताका घर घरमा पुग्नेछ । केहीदिन भित्रै उपभोक्ताको धारामा पानी पुग्नेछ ।’ पानी प्रशोधन भएपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेडले नयाँ तालिका बनाएर पानी वितरण कार्यलाई अघि बढाउनेछ ।

२०७८ साल असारमा आएको बाढी पहिरोले मेलम्ची आयोजना स्थलमा क्षति पुगेपछि पानी आउन बन्द भएको थियो । गत वैशाखमा अस्थायी बाँध बनाएर काठमाडौं पानी पठाउन थालिए पनि १ महिनापछि गत जेठदेखि सुरुङको बन्द गरेर पानी पठाउन रोकिएको थियो । पुनः अस्थायी बाँध हालेर काठमाडौंमा पानी पठाउन थालिएको हो । अब हिउँदयामभरी मेलम्चीको पानी निरन्तर रुपमा काठमाडौंका धारामा आउने मेलम्ची खानेपानी आयोजनाको भनाई छ ।

प्रकाशित मिति: Dec 6, 2022

प्रतिक्रिया दिनुहोस्