Logo
२३ माघ २०७९, सोमबार
(December 5, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेस केन्द्रीय समिति बैठक बोलाउन नेता महरको माग

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेसले तत्काल केन्द्रीय समिति बैठक बोलाएर आम निर्वाचनको समीक्षा र गठबन्धन तथा दलभित्र भएका घात-अन्तर्घातको छानबिन गर्न माग गरेका छन्। राजनीतिक संवाद समूहले काठमाडौंको महाराजगन्जमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता महरले दल र गठबन्धनभित्र भएको अन्तर्घातको गहन समीक्षा हुन आवश्यक रहेको बताए।

यसका साथै नेता महरले सरकार निर्माणसँगै सत्ता साझेदारी र भावी सरकारको पाँच वर्षे स्पष्ट कार्ययोजना बनाउनका लागि कांग्रेस केन्द्रीय समिति बैठक चाँडो बोलाउनुपर्ने धारणा राखे। ‘दलीय गठबन्धनको बैठकले केही निर्णय गर्नु अगाडि पार्टीको बैठकबाटसमेत धारणा बनाएर गठबन्धनको बैठकमा लैजानुपर्छ। नेपाली कांग्रसको जीवनमा लोकतान्त्रीक बाम गठबन्धन नयाँ अभ्यास हो। यस्तो अवस्थामा कांग्रेसप्रति जनताको ठूलो अपेक्षा छ। ती अपेक्षालाई कसरी पुरा गर्ने भन्नेमा कांग्रेस सजग हुन जरुरी छ,’ नेता महरले भने। सुशासन कायम गरेर मुलुकमा कसरी भ्रष्टाचार न्यूनीकरण गर्न सकिन्छ भन्ने खाका प्रस्ट पार्दै कांग्रेस नयाँ सरकार निर्माणको छलफल र तयारीमा जुट्नुपर्ने महरले बताए।

‘जनताको आजको चाहना भ्रष्टाचारमुक्त मुलुक हो। स्वदेशमै रोजगारीको प्रत्याभूति हुनुपर्‍यो भन्ने हो। कानुनको सफल कार्यान्वयन तथा स्थिर सरकार जनताले चाहिरहेका छन्। त्यो कांग्रेसको नेतृत्वबाट मात्रै सम्भव छ। त्यसैले हामीले केन्द्रीय समिति बैठक बोलाएर चाँडो हाम्रो रोडम्याप तयार गर्नुपर्छ,’ उनले भने।

शिक्षा, स्वास्थ्य, खानेपानी, सडक यातायात, विद्युत्, सञ्चार र कृषि जस्ता सेवा प्रवाहका मूल विषय कांग्रेसले आगामी दिनमा कसरी अगाडि बढाउँछ भन्नेमा जनतालाई प्रस्ट पारेर सोही अनुरूप अहिलेकै गठबन्धन आबद्ध दलको नेतृत्वमा सरकार बनेर कार्यान्वयनको दिसामा अघि बढ्नुपर्ने महरले औंल्याए।

विशेष गरी युवा जमातमा आएको परिवर्तनको भोक र बेरोजगारीको समस्या ,सवदेश तथा विदेशमा रहेका नेपालीको इच्छा र आकांक्षा कसरी सम्बोधन गर्न सकिन्छ भन्नेमा कांग्रेसको प्रस्ट खाका हुनुपर्ने महरको जोड छ।

प्रकाशित मिति: Dec 5, 2022

प्रतिक्रिया दिनुहोस्