Logo
७ जेष्ठ २०८१, सोमबार
(November 29, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सत्ता गठबन्धनले नयाँ सरकार बनाउने सङ्केत

आगामी सरकार गठबन्धन दलहरूकै सहमतिअनुसार बन्ने संकेत देखिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सोमबार बालुवाटारमा छलफल हुनुले आगामी सरकार सत्ता गठबन्धनले नै बनाउने बलियो सम्भावना देखिएको हो ।

प्रधानमन्त्रीको प्रेस संयोजक गोविन्द परियारका अनुसार छलफलमा गठबन्धनको सहकार्यलाई निरन्तरता दिने बारेमा कुराकानी भएको छ । परियारले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘गठबन्धनका दलहरूको औपचारिक बैठक छिट्टै बोलाउने र गठबन्धनलाई कायम राख्ने विषयमा छलफल भएको छ ।’ प्रधानमन्त्री देउवासँग माओवादी केन्द्रका अध्यक्ष दाहालले दुई दिनअघि पनि भेट गर्नुभएको थियो ।

उता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि आफ्नो पक्षमा नेताहरूलाई ल्याउने कसरत थाल्नुभएको छ । तर, उक्त कसरत सफल हुने सम्भावना न्यून रहेको नेपाली कांग्रेसका एक नेताले बताए ।कांग्रेस नेतृत्वको सत्ता गठबन्धन र प्रमुख प्रतिपक्ष दल एमाले नेतृत्वको गठबनधनबीच भएको चुनावी प्रतिस्पर्धाको अन्तिम नतिजा आउने क्रम जारी छ । हालसम्मको अवस्था हेर्दा सबैभन्दा ठूलो दल कांग्रेससहित सत्ता गठबन्धनको बहुमत आउने देखिन्छ । नेकपा एमाले दोस्रो ठूलो दलसहित प्रतिपक्षमा रहने देखिएको छ ।

राजनीतिमा यस्तै हुन्छ भन्ने अवस्था नरहे पनि सामान्यतया वर्तमान सत्ता गठबन्धनकै सरकार बन्ने अवस्था देखिएको टिप्पणी गर्दै राजनीतिक विश्लेषक शंकर तिवारीले भन्नुभयो– ‘प्रत्यक्ष र समानुपातिक गरी २ सय ७५ सदस्यीय प्रतिनिधि सभामा कुनै पनि दलको बहुमत अर्थात् सरकार बनाउन आवश्यक १ सय ३८ सांसद संख्या नपुग्ने भएपछि दुईभन्दा बढी दलहरू मिलेर सरकार बन्ने संवैधानिक व्यवस्था छ । अहिलेकै अवस्था हेर्दा सत्ता गठबन्धनकै सरकार बन्ने सम्भावना बढी छ ।’

एमालेलाई वर्तमान सत्ता गठबन्धनबाहेकका दलहरू र स्वतन्त्रसमेत जोड्दा सरकार बनाउन आवश्यक बहुमत नपुग्ने देखिन्छ । तर, वर्तममान गठबन्धन टुटेर कांग्रेस बाहेकका सबै दलहरू मिलेको खण्डमा एमाले वा अरू कसैको नेतृत्वमा सरकार बन्ने सम्भावना भने खुला रहेको कतिपयको बुझाइ छ ।संविधानको धारा ७६ ९१० अनुसार नयाँ सरकार बन्नका लागि प्रतिनिधि सभामा कुनै पनि दलको आवश्यक बहुमत नपुग्ने देखिएपछि सरकार गठनको पहिलो बाटो बन्द भएको छ । वर्तमान गठबन्धन अहिले नै भत्कि हाल्ने अवस्था नरहेकाले साविककै अवस्थामा सरकार बन्न सक्ने धेरैले आंकलन गरेका छन् । सत्ता गठबन्धनका प्रमुख तीन दलबीच वर्तमान गठबन्धनलाई निरन्तरता दिने गरी छलफल अघि बढेको छ ।

अहिलेसम्मको मत परिणामअनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १ सय ६५ सिटमा कांग्रेस पहिलो दल, एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो दल बनेको छ । १ सय ६५ मध्ये स्याङजा, दोलखा र मोरङ ४ को मतगणना स्थगित छ । हाल सम्मको परिणामले नेपाली कांग्रेस ५५ सिट नघट्ने देखिन्छ भने एमालेले ४४ सिटभन्दा बढाउने अवस्था छैन । नेकपा माओवादी केन्द्रले १७, नेकपा एकीकृत समाजवादी १०, राष्ट्रिय स्वतन्त्र पार्टी ७, राप्रपा ७, जनता समाजवादी ७, लोसपा ४, नागरिक उन्मुक्ति पार्टी ३, जनमत पार्टी १, नेमकिपा १ र ५ स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।
समानुपातिकतर्फ आएको मतअनुसार एमाले पहिलो पार्टी बनेको छ भने कांग्रेस दोस्रो स्थानमा छ । एमालले अहिलेसम्म २७ प्रतिशतभन्दा बढी मत ल्याएको छ भने कांग्रेसले २६ प्रतिशत मत कटाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ११ प्रतिशत मत ल्याएर समानुपातिक तेस्रो बनेको छ । माओवादी केन्द्र चौथो स्थानमा आएको छ ।

वर्तमान सत्ता गठबन्धन भत्कने अवस्थामा कांग्रेसलाई सरकार बनाउन सहज देखिँदैन । एमालेले कांग्रेस, माओवादी र एकीकृत समाजवादीलाई समेत बाहिर राखेर बाँकी सबै दल र स्वतन्त्रहरूलाई मनायो भने एमालेकै नेतृत्वमा सरकार बन्ने झिनो सम्भावनालाई नकार्न सकिँदैन । एमालेले सात आठवटा साना दलको सहयोग लिनुपर्ने अवस्था आउँछ । तर, त्यो अवस्था आउन नदिन कांग्रेस र माओवादीले भरमग्दुर प्रयास गर्नेछन् । अर्कोतिर वामपन्थी पार्टीबीचको नयाँ गठबन्धन बनाउने र उनीहरूको नेतृत्वमा सरकार बनाउने सम्भावना पनि त्यतिकै रहन्छ । किनभने एमाले र माओवादी दुवैमा वामपन्थी गठबन्धन बनाएर अघि बढ्नुपर्छ भन्ने मत बलियो छ । यद्यपि, त्यो मत बाहिर खुलेर प्रकट हुन सकेको छैन ।

प्रकाशित मिति: Nov 29, 2022

प्रतिक्रिया दिनुहोस्