Logo
१६ चैत्र २०८०, शुक्रबार
(October 20, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उम्मेदवारलाई मतदाताको जवाफ : पार्टीभन्दा पनि विकास गर्नेलाई भोट दिन्छौँ

रुकुम पश्चिम आठबीसकोट-९ की सीता बटालाको घरमा बुधबार नेकपा एमालेका नेता तथा कार्यक्रताहरु भोट दिन आग्रह गर्दै पुगे ।  उम्मेदवारसहित भोट माग्न घरमा पुगेका एमाले कार्यक्रताले घरमा साना बालबालिकाबाहेक ठूलो व्यक्ति कोही नभेट्दा बालबालिकाले दिएको सूचनाअनुसार धान काट्ने ठाउँमा जान बाध्य भए । दल बलसहित धान काटिरहेको खेतमा पुगेका नेता कार्यक्रता देख्दा सीता बटालासहित उनका पाँच जना परिवार अचम्ममा परे ।

भोट दिनुपर्‍याे भन्दै पुगेका उम्मेदवारलाई सीताले तपाईंहरूको एजेण्डा के छ सुनाउनुहोस् भन्दै प्रश्न गरिन् । एमालेका उम्मेदवारसहितका कार्यक्रता पनि के कम ? सबै एजेण्डा सुनाउने क्रम्मा सुरुमा भनेका थिए ,‘रुकुम पश्चिममा माओवादी ज्यादती बढी भयो , यसलाई ध्वास्त पार्नुपर्‍याे  । तपाईं, हामी नमिलेसम्म यो काम हुने छैन ।’ यो सुनेपछि सीतालाई रिस उठ्यो, उनले भनिन्, ‘तपाईंहरु भोट माग्न आएको हो कि इगो साट्न । तपाईंहरू जानुहोस् । हामीलाई जसले विकास गर्छ, खानेपानी, सिँचाई ,विद्युत ल्याउँछ उसैलाई भोट दिने हो । तर, तपाईंहरूको रिस पोख्ने ठाउँमा हामीलाई प्रयोग नगर्नुहोस् ।’यति सुनेपछि एमाले टोलीले केही छैन समस्या हामीलाई भोट दिनुहोला भन्दै खेतबाट बाहिरिए ।

डोल्पा ख का दोस्रो पटकका उम्मेदवार तथा कर्णाली प्रदेशका वनमन्त्री वीरबहादुर शाही ( गठबन्धनका साझा उम्मेदवार ‘माओवादी उम्मेदवार’) गाउँ घरमा दोस्रो पटकका लागि भोट माग्दै छन् ।

पहिलो चरणमा मैले गरेका कामहरु अधुरा भए अब दोस्रो पटक भोट दिएमा सबै पूरा हुने बाचा गर्दै भोट मागिरहेका छन् । मतदाताले खाद्य डिपोहरूमा नुन र चामलको आपूर्ती, सडक सञ्जाल छिटो जोड्नुपर्ने र विद्युतीकरण कहिले हुन्छ भन्ने लगाएतका माग राखेका छन् । माओवादीलाई यो पटक भोट दिएमा डोल्पाका अधिकांश कामहरू पूरा हुने शाहीको जवाफमा मतदाताले हामी पार्टीभन्दा पनि विकास निर्माणको कामलाई चिन्छौँ , जसले हाम्रो आधारभूत आवश्यकता पूरा गर्छ, उसैलाई भोट दिन्छौँ भन्दै जवाफ फर्काएका छन् ।

जाजरकोटमा गठबन्धनका सबै नेता तथा कार्यक्रताहरु एकै कार्यक्रम बनाएर गाउँ गाउँमा रहेका छन् । उनीहरुले अधुरा कामहरु पुरा गर्ने बाचासहित भोट मागिरहेका छन् । नेकपा एमालेका उम्मेदवार निरज आचार्यले आफू यूवा भएकाले भोट दिन आग्रह गरेका छन् ।

शान्ति प्रक्रियायताका समयमा नेकपा एमालेले जाजरकोटमा नेतृत्व गर्न नपाएका कारण उसले देखाउने विकासका एजेण्डाहरु खासै नभएको पाइएको छ । उत्ता गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्याका उम्मेदवार शक्तिबहादुर बस्नेतले आफूले गरेका कामको रामकहानी लामो बनाएर प्रचार गर्दै भोट मागीरहेका छन् । उनीले गरेका कामहरूको फेहरिस्त कांग्रेसका उम्मेदवार बेदराज सिंह ( गठबन्धन प्रदेश क) लगाएतका नेताहरु सुनाइरहेका छन् । गठबन्धनकै बलमा सबै काम भएको भन्दै प्रचार गरिरहेका छन् । जाजकोटमा शक्ति बस्नेत एक मात्र पटक पटक संघीय मन्त्री र पहुँच राख्ने नेता भएकाले गठबन्धनलाई भोट माग्न सजिलो बनाइदिएको छ ।

सुर्खेतमा नेपाली कांग्रेसका केन्द्रीय उपसभापति नै चुनावमा भिडेका कारण त्यहाँको माहुल तातिएको छ । सुर्खेतमा पनि गठबन्धनका उम्मेदवारहरु गाउँ ,गाउँमा पुगेका छन् । कालिकोट, जाजरकोट, रुकुम पश्चिम, हुम्ला र सल्यान पटक पटक संघीय मन्त्री पाउने जिल्लाको लिष्टमा पर्दछ । मन्त्रीको पद भजाउँदै विकास गर्छु भनेर मतदातालाई भोट माग्ने गतिलो हतियार समेत बन्दै आएको छ ।

प्रदेश सरकारको तर्फबाट कर्णालीका अधिकांश जिल्लाले मन्त्री पाइसकेको छ । मन्त्री पाएका अधिकांश व्यक्तिहरु चुनाव मैदानमा नभए पनि ४० प्रतिशतले चुनावमा भाग लिएका छन् । कर्णालीमा तेस्रो हैसियातमा खम्चिएको नेकपा एमाले रुष्ट व्यक्तिहरुलाई साथमा लिएर चुनावी परिणाम आफ्नो पक्षमा पार्ने दाउमा छ । गठबन्धन संवद्ध दलहरु रुष्टलाई फकाएर सबै परिणाम आफ्नो पक्षमा ल्याइ पल्लाभारी पार्ने दावी गरिरहेको छन । दोहोरिनेमा प्रतिनिधिसभामा रुकुम पश्चिमबाट जर्नादन शर्मा, जाजरकोटबाट शक्तिबहादुर बस्नेत, डोल्पाबाट धनबहादुर बुढा , कालिकोटबाट महेन्द्रबहादुर शाही दोहोरिएका छन् ।

प्रदेशमा डोल्पाबाट वीरबहादुर शाही, जुम्लाबाट पदम रोकाय, हुम्लाबाट मुख्यमन्त्री जीवनबहादुर शाही, दैलेखबाट अमर थापा, कालिकोटबाट कुर्मराज शाही, सल्यानबाट प्रकाश ज्वाला ( प्रतिनिधिसभा उक्लेका ) दोहोरिएका छन् ।

पहिलो चरणमा गठबन्धन बलियो बनाउने, दोस्रो चरणमा एमाले भित्र फुट पैदा गर्ने लगाएका कुरामा गठबन्धन चनाखो देखिएको छ । एमाले भित्र दुई धार देखिएका कारण चुनावमा प्रभाव पर्न सक्ने आकलन गठबन्धन भित्र चर्चा रहेको छ ।

गठबन्धन भित्र राम्रो एजेण्डा र जनमत भएकाले पुर्ण रुपमा सफल हुने नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लले बताए । यो पटक इन्चार्ज मल्ल, प्रदेश अध्यक्ष विमला केसी चुनावमा लडेका छैनन् । कांग्रेसका कर्णाली प्रदेश सभापति  ललितजंग शाही जुम्लाबाट प्रदेशसभाका उम्मेदवार रहेका छन् । त्यस्तै नेकपा एमालेका स्थायी कमिटी सदस्य यमलाल कँडेल सुर्खेतबाटै प्रदेशसभाका उम्मेदवार छन् ।

प्रकाशित मिति: Oct 20, 2022

प्रतिक्रिया दिनुहोस्