Logo
७ बैशाख २०८१, शुक्रबार
(September 11, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सनपाटको खेती : मलखाद अभावका बच घट्दो प्रतिफलबाट किसान असन्तुष्ट !

किसानहरू यतिबेला जुट खेतीमा लगाएको लगानी उठाउने चटारोमा छन् । तर, जुट अर्थात् सनपाटको खेती गरेका किसान घट्दो प्रतिफलबाट सन्तुष्ट भने छैनन् ।

अघिल्ला वर्षहरूमा सुनसरीका धेरैजसो स्थानमा जुटको खेती गर्ने गरिन्थ्यो । यद्यपि खेती किसानी गर्नेको सङ्ख्या पछिल्ला वर्षहरूमा भने क्रमिक रूपले घट्दै गएको छ ।

लागत खर्च बढी र आम्दानी कम हुनाले समेत किसानमा जुट खेतीप्रतिको आकर्षण घट्दै गएको स्वयम् किसानहरू बताउँछन् । अघिल्ला वर्षहरूमा जुट (सनपाट) खेतीबाट मनग्य आम्दानी गर्ने अधिकांश किसानहरू यतिबेला भने उत्पादनबाट सन्तुष्ट छैनन् ।

मलखाद अभावमा उत्पादनमा आएको कमीसँगै खेती किसानीप्रति उनीहरूमा नैराश्यतासमेत बढेको छ । सुनसरीको भोक्राहा नरसिंहका खुशीलाल उराँव भन्छन्, ‘सरकारले मल दिनै सक्दैन । दिए पनि ६ महिनामा एकपल्ट दिन्छ । त्यो पनि सबैले पाउनै मुस्किल हुन्छ ।’

मल अभाव देखाउँदै सरकारप्रतिको असन्तुष्टि ओकल्दै खुशीलाल आक्रोस पोख्छन्, ‘गाउँमा एकजनाले पायो भने सबैले पाएको ठान्ने सरकारको भरपर्नु नै किसानका लागि बेकार हो । मर्कामा जसरी पनि किसान नै पर्ने हो । त्यसैले बाध्यता र विवशतामा बाँच्नुबाहेकको विकल्प छैन ।’

खुशीलालजस्तै रामकृपाल मेहताको समेत सरकारप्रति चरम् असन्तुष्टि छ । बाबुबाजेको पेशालाई निरन्तरता दिँदै आएका रामकृपाल किसानी पेसाको विकल्प नभएकाले बाध्यतामा खेती गर्दै आएको बताउँछन् ।

उनी कामदार महँगो मात्र नभई मलखाद नेपालमा नपाउँदाको पीडा असह्य रहेको बताउँछन । नेपालमा मल पाइहाले डिलरवालाले ठूलाबडालाई बेच्ने गरेकाले समेत आम किसान मर्कामा पर्दै आएको उनको भनाइ छ ।

मेहता भारतबाट महँगो मूल्य तिरेर खरिद गरी पर्याप्त मल हाल्नसमेत गाह्रो पर्ने बताउँछन् । जसका कारण उत्पादनमा कमी स्वभाविक हुने बताउने उनी जसोतसोको उत्पादनले खर्च नै धान्न धौ–धौ हुने गरेको बताउँछन् ।

समयमै मल नपाएको पीडा झेलेका अधिकांश किसान जुट उत्पादनसमेत घट्न पुग्दा थप चिन्तामा छन् । उनीहरू जुट खेतीप्रतिको रुचिसमेत क्रमशः हराउँदै गएको बताउँछन् ।

भारतबाट महँगो मूल्य तिरेर मलखाद किन्न बाध्य हुनुपरेको अधिकांश किसान अन्य लागतसमेत बढ्न गई आम्दानी कम हुँदा थप मर्कामा पर्ने गरेको बताउँछन् । अझ त्यसमा पनि साहुले लगाउने दाम र मोलमोलाइका कारण उचित मूल्य पाउन नसक्नुसमेत चिन्ताको विषय बन्ने गरेकोे उनीहरू बताउँछन् ।

जसोतसो जुट खेती गरे पनि मलखादको समस्या ज्यूँका त्यूँ रहेकाले अन्य खेतीमा समेत सकस हुने चिन्ताले किसान थप पिरोलिएका छन् । उनीहरू सरकारले मलखादको समस्या बेलैमा सम्बोधन गर्न सक्नुपर्ने बताउँछन् ।

प्रकाशित मिति: Sep 11, 2022

प्रतिक्रिया दिनुहोस्