Logo
३१ बैशाख २०८१, सोमबार
(September 11, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनसरीमा यसरी हुँदैछ सत्तारुढ गठबन्धनबीच सिट बाँडफाँड, कांग्रेसका उम्मेदवार नामका मात्र

प्रदेश १ स्थित सुनसरीमा नेपाली कांग्रेसले एक्लै तीन वटा प्रतिनिधिसभा निर्वाचन जितेकोमा अहिलेपनि कांग्रेसभित्र तीन वटै निर्वाचन क्षेत्र र त्यसका ६ वटा प्रदेशसभा जसरी पनि कायम राख्नु पर्ने दवाव छ ।

कांग्रेसभित्र अहिले उम्मेदवारका आकांक्षीहरुले सोहीअनुसार लविङग समेत गरिरहेका छन । तर सत्ता गठबन्धनको बैठक जारी रहेकोले अहिले कांग्रेसका आकांक्षीहरुमा अन्यौलता पनि उत्तिकै छ ।

अहिलेसम्म सुनसरी जिल्लामा गठबन्धनका जनमोर्चा बाहेक सबै दलको आ–आफ्नै दावी छ । नेकपा एकीकृत समाजवादीले नेकपा एमालेले जितेको कम्तिमा दुई वटा प्रदेशसभा सदस्यमा दावी गरिरहेका छ भने नेकपा माओवादी केन्द्रले पनि दुई प्रदेशसभा सदस्यमा दावी गरिरहेको छ।

जनता समाजवादी पार्टीले भने एक प्रतिनिधिसभा सदस्य र एक प्रदेश सभा सदस्यको दावी केन्द्रमा प्रस्तुत गरेको छ । दलहरुले आ–आफ्नो दावी कायम राखेपनि अन्तत नेकपा एकीकृत समाजवादी एक प्रदेशसभा, नेकपा माओवादी एक प्रदेशसभा सदस्य र जसपा एक प्रतिनिधिसभा सदस्यको अपेक्षा राखेका छन ।

उच्च स्रोतका अनुसार अहिले दलहरु आ-आफ्नो दावीको अडानमा रहेपनि अन्तत सुनसरीमा कांग्रेसलाई तीन प्रतिनिधिसभा र छ प्रदेशसभा सदस्य दिएर गठबन्धन मिल्ने स्थिति छ ।

स्रोतका अनुसार जनता समाजवादी पार्टीले सुनसरी १ मा प्रतिनिधिसभा सदस्यको भाग पाउने छ । त्यहाँ सो पार्टीका बरिष्ठ नेता अशोक राईले उम्मेदवारी यसअघि नै घोषणा गरिसकेका छन । सो क्षेत्रको दुबै प्रदेशसभा सदस्य नेपाली कांग्रेसले पाउने छ ।

प्रतिनिधिसभा क्षेत्र नम्बर २ नेपाली कांग्रेसले नै पाउने छ भने क्षेत्र नम्बर २ (क) नेकपा माओवादी केन्द्रले पाउने छ । त्यहाँ माओवादी केन्द्र प्रदेश १ का उपाध्यक्ष शिवकुमार डाँगी, उपसभामुख सरस्वती पोखरेल र संविधानसभा सदस्य अनिता परियारको दावी छ ।

त्यस्तै २ को (ख) काग्रेसले नै राख्ने बुझिएको छ । यहाँ एमालेका रामप्रसाद मेहतासँग कांग्रेसले प्रतिष्पर्धा गर्नुपर्ने छ । मेहता विरुद्ध कुनै मेहतालाई नै तर दक्षिणका उम्मेदवार उतार्ने सोचमा कांग्रेस रहेको छ ।

क्षेत्र नम्बर ३ भने पुरै गठबन्धनले नेपाली कांग्रेसलाई छाड्ने स्थिति छ । त्यहाँ प्रतिनिधिसभा सदस्यमा विजयकुमार गच्छदार उम्मेदवार बन्दैछ भने दुबै प्रदेशसभा सदस्य पनि कांग्रसकै भागमा पर्ने छ ।

केन्द्रिय नेता तथा संघीय सरकारका सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की उम्मेदवार बन्ने क्षेत्र नम्बर ४ को प्रदेशसभा (क) क्षेत्र जसपालाई दिने तयारी रहेको छ भने प्रदेशसभा (ख) क्षेत्र नेकपा एकीकृत समाजवादीले पाउने छ ।

त्यहाँ सो पार्टीका अध्यक्ष माधवकुमार नेपाल निकट केन्द्रीय सदस्य महफुज आलमले टिकट पाउने लगभग आन्तरिक रुपमा तय भएको स्रोतले जनाएको छ । यसरी प्रदेशको दुवै सिट गठबन्धनलाई दिदा सरल तरिकाबाट चुनाव जित्ने कार्कीको योजना रहेको छ ।

 

प्रकाशित मिति: Sep 11, 2022

प्रतिक्रिया दिनुहोस्