Logo
१३ बैशाख २०८१, बिहीबार
(July 26, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चुनाव निष्पक्ष हुँदैन की भन्ने आशंका छ : प्रभू साह (अन्तरवार्ता)

प्रभू साह
स्थायी कमिटि सदस्य, नेकपा एमाले

० आगामी चुनावमा तपाइँको एजेण्डा के–के हुनेछ ?
— मेरो व्यक्तिगत कुनै एजेण्डा हुने छैन । जनता र देशको आवश्यकतालाई मध्यनजर गर्दै पार्टीले जुन एजेण्डा ल्याउँछ, त्यहीं मेरो पनि एजेण्डा हुनेछ ।

० एकातिर पाँच दलीय गठबन्धन छ, एमाले एक्लै प्रतिस्पर्धा गर्न सक्षम छ त ?
— पाँच दलीय गठबन्धनसँग प्रतिस्पर्धा गर्न एमाले एकदम सक्षम छ । अहिले स्थानीय तहको निर्वाचनबाट पनि देखाइसक्यो । सबै पार्टी एकातिर मिल्दा पनि एमाले एक्लैले प्रतिस्पर्धा पनि ग¥यो, जनमत पनि बढायो, राम्रै प्रदर्शन ग¥यो ।

० आगामी चुनावमा एमाले कस्तो अवस्था आउँछ ?
— स्थानीय तहको निर्वाचनमा पनि एमालेको मत संख्या सबभन्दा बढी नै छ अर्थात् पहिलो पार्टीकै रुपमा छ । गठबन्धनको कारणले सिट संख्यामा केही तलमाथि भएको छ । राष्ट्रको विकास र समृद्धिका लागि एउटा सही र दह्रो नेतृत्व चाहिन्छ । आगामी चुनावमा जनताले अझ गम्भीर भएर देशलाई सही दिशा दिन एमालेको स्पष्ट बहुमतसहित सरकार बनाउन जनादेश दिन्छ ।

० आगामी चुनावमा एमालेले कुन–कुन दलसँग चुनावी गठबन्धन गर्छ ?
— त्यतिबेलाको आवश्यकता हेरेर एमालेले गठबन्धनको कुरा गर्छ । अहिलेसम्म एमाले एक्लै प्रतिस्पर्धा गर्ने अवस्थामा छ । गठबन्धनको अहिलेसम्म कुनै योजना वा प्रस्ताव पनि छैन । तर हाम्रो विचारसँग मिल्ने शक्तिलाई सँगै लान सकिन्छ । अहिले त्यो विषय स्पष्ट भइसकेको छैन ।

० अहिले फेरि वाम गठबन्धनको चर्चा चलिरहेको छ । एमालेले प्रचण्ड, माधव नेपाल, वामदेव गौतम लगायत कम्युनिष्ट पार्टीहरुसँग गठबन्धन गर्न तयार छ ?
— जनता र देशका लागि जिम्मेवार पार्टीहरु एक ठाउँमा आउन आवश्यक नै छ । तर, वाम गठबन्धनको अहिले कुनै सम्भावना म देख्दिँन । तर वाम सोच भएका व्यक्तिहरुसँग ध्रुवीकरणको सम्भावना म देख्छु ।

० यो गठबन्धन सरकारले प्रदेश र संघको चुनाव गराउन सक्छ ?
— यो सरकार निष्पक्ष चुनाव गर्न सम्भवै छैन । यो सरकारबाट निष्पक्ष चुनावको अपेक्षा गर्नु गोरुले दुध दिन्छ भन्ने जस्तै हो ।

० त्यसो भए, आगामी चुनाव कसको नेतृत्वमा हुन्छ ?
— स्वार्थीहरुले होइन, निष्पक्ष र निस्वार्थी नेतृत्वले आगामी चुनाव गराउन सक्छ । त्यो भनेको नेकपा एमाले हो । यदि कसैले यो देशमा निष्पक्ष निर्वाचन चाहन्छ भने एमालेको नेतृत्वलाई अगाडि बढाउनुपर्ने हुन्छ । यो गठबन्धन सरकारले निष्पक्ष चुनाव गराउन सक्दैन । त्यो हामी स्थानीय तहमा हेरिसक्यौं । गठबन्धनका ठूलठूला नेताका आसेपासेहरु निर्वाचन जिताउन केन्द्रित भइरहेका छन् । माधव कुमार नेपालजी रौतहटबाट चुनाव लड्दै हुनुहुन्छ । उहाँको क्षेत्रमा पर्ने गौर, त्यहाँ उहाँको पीएसओलाई शाखा प्रमुखको रुपमा खटाइसक्यो । निर्वाचन अगाडि एउटा पीएसओलाई जिल्ला प्रहरी कार्यालयको एउटा महत्वपूर्ण जिम्मेवारी दिनु भनेको निष्पक्ष निर्वाचन नहुने संकेत हो । उहाँले मात्रै होइन, गठबन्धनका सबै नेताहरुको त्यहीं खेलहरु भइरहेका छन् ।

० भनेपछि निष्पक्ष चुनाव गराउन केपी ओली नेतृत्वकै सरकार हुनुपर्छ ?
— निष्पक्ष चुनावका लागि केपी ओली नै चाहिन्छ ।

० केपी ओलीको नेतृत्वमा चुनावी सरकार गठन हुन्छ त ?
— यो देशमा निष्पक्ष निर्वाचन गराउने हो र देशलाई सही दिशा दिने हो भने केपी ओलीलाई ल्याउनैपर्छ ।

० अहिले मल खाद नपाएर किसान मारमा छन्, यसलाई कसरी हेर्नुभएको छ ?
— यो सरकारको नालायकीपन हो । जनता र देशविरोधी हर्कतको परिणति हो । किनकि अहिले अपर्झट मल चाहिएको होइन, नियमित आउनुपर्छ । नेपालमा जति खेतीयोग्य जग्गा छ, त्यसमा सिंचाइ ग¥यो भने कति मल चाहिन्छ भन्ने कुरा दुई मिनेटमै निकाल्न सकिन्छ । भनेपछि हरेक वर्ष मलको अभाव हुनुको विडम्बनापूर्ण हो । सरकार यदि जिम्मेवारी भइदिएको भए मलको अभाव नै हुने थिएन । यो सरकार जति दिनसम्म रहन्छ, किसानले यस्तै मार खेप्नुपर्ने हुन्छ ।

० स्थानीय तहको परिणामलाई कसरी समीक्षा गर्नु हुन्छ ?
— स्थानीय तहको चुनाव निष्पक्ष, धाँधलीरहित हुनुपर्दथ्यो, त्यो हुन सकेन । यसलाई चुनावै भन्न मिल्दैन । रौतहटमा हामी हे¥यौं, अहिलेको २१औं शताब्दीमा नेपालको यो व्यवस्थाको नै लागि एउटा चुनौती जस्तो लाग्छ । निर्वाचन आचार संहिताको उल्लंघन सरकारी पार्टी र सरकारको पक्षबाट भयो । जब चुनाव निष्पक्ष हुँदैन भने परिणाम पनि त्यस्तै आउँछ । हाम्रो विरुद्धमा जसरी गठबन्धन बढिरहेको थियो तैपनि एमालेले ठूलो सफलता प्राप्त गरेको छ । खासगरी मधेश प्रदेशमा एमाले पाँचौं नम्बरमा थियो अहिले दोस्रो नम्बरमा फड्को मारेको छ । मतको प्रतिशत पनि बढेको छ । सबै हेर्ने हो भने सन्तोषजनक स्थिति छ ।

० स्थानीय चुनावमा धाँधली भयो भनेर कसरी भन्न सक्नुहुन्छ ?
— केही बुथहरुमा धाँधली हुँदा चुनाव स्थगित भयो र फेरि भयो । त्यसले प्रष्ट देखिन्छ कि धाँधली भएको थियो । प्रहरी र सरकार पक्षकै संलग्नतामा बुथ कब्जा गर्ने काम भयो । कार्यालय सहयोगीलाई मतदान अधिकृत बनाएको हामीले हे¥यौं । प्रहरी प्रशासन पनि गठबन्धनको लठैत जस्तो प्रस्तुत भयो । सबै हेर्दा हामीले होइन तथ्यहरुले भन्छ कि धाँधली भयो ।

० स्थानीय तहको परिणामबाट सन्तुष्ट हुनुहुन्न ?
— यति धाँधली हुँदाहुँदै पनि एमालेप्रति जनताको रुझान र समर्थन देखा प¥यो, त्यो आफैमा सन्तोषजनक छ ।

० मधेश प्रदेशमा विगतमा एमाले कमजोर अवस्थामा थियो, यो चुनावमा दोस्रो ठूलो पार्टी बन्यो । यो कसरी सम्भव भयो ?
— जनतामा विभिन्न भ्रमहरु थियो कि एमाले मधेश विरोधी हो । पाँच वर्षमा एमालेको कार्यले पुष्टि भयो कि एमाले मधेश विरोधी होइन, मधेश पक्षधर पार्टी हो । केपी शर्मा ओलीको सरकार र हाम्रा नेता कार्यकर्ताहरुले जुन काम गरे, जसले गर्दा जनतामा रहेका भ्रमहरु हट्यो । जसले स्थापित भयो कि एमाले भनेको मधेश पक्षधर पार्टी हो ।

० माओवादी दशवर्षे जनयुद्धबाट नेपालको राजनीतिमा तपाइँ स्थापित हुनुभयो, अहिले पार्टी परिवर्तन किन गर्नुभयो त ?
— यो पार्टी परिवर्तन होइन । माओवादी र एमालेको एकता भएदेखि त्यसैको निरन्तरता हो यो । यसमा एमाले पनि छ र माओवादीे पनि छ । यसबाहेक हेर्ने हो भने माधव नेपालसँग शुद्ध एमालेका मान्छे छन् भने माधव नेपालसँग शुद्ध माओवादीका मान्छे छन् । एमाले र माओवादी मिलेर बनेको यो नयाँ एमाले हो ।

० माओवादीबाट एमालेमा लाग्दा आगामी चुनावमा कतिको चुनौती महसुस गर्नुहुन्छ ?
— माओवादी र एमाले मिलि एउटै पार्टी बनिसकेकोले मतदाता पनि एउटै छन् । किनकि त्यहाँ मधेशवादी र कांग्रेसबाट पीडित जनताहरु एमालेलाई साथ दिने, अगाडि बढाउने छन् । स्थानीय तहको परिणामले एमालेकै पक्षमा जनताको रुझान देखियो ।

० तपाइँ पटक–पटक मन्त्री बन्नुभयो, तपाइँको क्षेत्रका जनताले के पाए ?
— एक त म मन्त्रीको लागि मन्त्री बनेको थिएँ, काम गर्ने कुनै अवसरै पाएको छैन । काम गर्ने वातावरणसहितको मन्त्री अझ पनि बनेको छैन । त्यो बन्यो भने काम गर्छु ।

० त्यसो भए, अब फेरि रौतहट क्षेत्र नं. ३ का जनताले तपाइँलाई नै किन जिताउनुपर्ने ?
— रौतहट क्षेत्र नं. ३ का जनता आफ्नो नेतृत्व खासगरी राष्ट्रिय राजनीतिमा दह्रो उपस्थितिका लागि प्रभु साहलाई नै रोज्नुपर्ने हुन्छ । किनकि राष्ट्रिय राजनीतिमा रौतहट र मधेशको भूमिकालाई स्थापित गर्न प्रभु साह नै उपयुक्त हुन्छ । अर्को कुरा भनेको त्यहाँको विकास, सेवा, जनताको चाहनाअनुसार हिंड्ने हिसावले पनि त्यहीं उपयुक्त हुन्छ । मुख्यतः अहिलेको देशको राजनीतिक सिनारियोलाई सही दिशा दिन र समृद्धिको बाटोमा लान, त्यो क्षेत्रलाई विकासको मोडल बनाउन प्रभु साह उपयुक्त हो । जनताले पनि सोचिरहेका होलान् ।

– नागरिक टाइम्सका लागि सुनिलकुमार साहले पूर्वमन्त्री प्रभु साहसंग गरिएको कुराकानीको सम्पादित अंश ।

प्रकाशित मिति: Jul 26, 2022

प्रतिक्रिया दिनुहोस्