Logo
७ बैशाख २०८१, शुक्रबार
(June 26, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लमजुङका अधिकांश उम्मेदवारले चुनावी खर्च विवरण बुझाएनन्

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका लमजुङका एक हजार ४१ जना उमेदवारमध्ये ५८ जनाले मात्रै चुनावी खर्च विवरण बुझाएका छन् ।

जिल्ला निर्वाचन कार्यालय लमजुङका अनुसार निर्धारित समयमा जिल्लाका स्थानीय तहमा प्रमुख र उपप्रमुख वा उपाध्यक्षमा उमेदवार बनेका तीन/तीन जनाले खर्च विवरण बुझाएका हुन् । सोबाहेक खर्च विवरण बुझाउनेमा १४ जना वडाध्यक्षका उमेदवार रहेका छन् भने ३८ जना सदस्य पदका उमेदवार रहेका छन् ।

चुनावी खर्च विवरण बुझाउने पालिका प्रमुखहरूमा सुन्दरबजार नगरपालिका प्रमुख कृष्ण कोइराला, क्होलासोँथार गाउँपालिका अध्यक्ष सूर्य गुरुङ र बेंसीसहरमा नगरप्रमुख उमेदवार बनेकी कुलुमाया गुरुङ छन् । कोइराला नेपाली कांग्रेसबाट सुन्दरबजार नगरप्रमुखमा निर्वाचित भएका हुन् भने सूर्य गुरुङ नेकपा एमालेबाट क्होलासोँथार गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । त्यसैगरी कुलुकुमारी गुरुङ मंगोल नेसनल अर्गनाइजेसनबाट बेसीशहर नगरप्रमुखमा उम्मेदार बनेकी थिइन् ।

त्यस्तै उपप्रमुख वा उपाध्यक्षतर्फ क्होलासोँथार गाउँपालिका उपाध्यक्ष गमीमाया गुरुङ, बेसीशहर नगरपालिकामा उपप्रमुखमा उम्मेदार बनेका हरिजङ तामाङ र पदममाया गुरुङ रहेको निर्वाचन कार्यालय लमजुङले जनाएको छ । गमीमाया गुरुङ नेकपा एमालेबाट क्होलासोँथार गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएकी हुन् भने तामाङ नेकपा माओवादी केन्द्रबाट बेंसीशहर नगर उपप्रमुख पदमा उम्मेदार बनेका थिए । त्यसैगरी पदममाया गुरुङ मंगोल नेशनल अर्गनाइजेसन पार्टीबाट बेसीशहर नगर उपप्रमुखमा उम्मेदार बनेकी थिइन् ।

निर्वाचन कार्यालयका सूचना अधिकारी जिवाखर शर्माका अनुसार खर्च विवरण बुझाउने अन्य जनप्रतिनिधिमा विभिन्न स्थानीय तहमा विभिन्न पार्टीबाट उम्मेदार बनेका छन् । जिल्लाका आठ स्थानीय तहमध्ये राइनास नगरपालिका, मर्स्याङ्दी गाउँपालिका र दूधपोखरी गाउँपालिकाबाट कुनै पनि पनि उमेदवारको खर्च विवरण आएकाे छैन ।

जिल्ला निर्वाचन कार्यालयले निर्वाचन सकिएको एक महिना भित्र चुनावी खर्च विवरण बुझाउन सार्वजनिक सूचना जारी गरेको थियो । निर्वाचन आयोगले तोकिदिएको अधिकतम रकमभन्दा बढी खर्च भएकाले उमेदवारलाई विवरण बुझाउन कठिनाइ भएको अनुमान गरीएको छ ।

जिल्लामा विभिन्न तहका ३९१ पदका लागि एक हजार ४१ जना उम्मेदवार रहेका थिए ।

प्रकाशित मिति: Jun 26, 2022

प्रतिक्रिया दिनुहोस्