Logo
१३ बैशाख २०८१, बिहीबार
(May 13, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मतपत्र देखाएपछि बाबुरामलाई स्पष्टीकरण, १५ हजार जरिवाना हुन सक्ने


जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई निर्वाचन आयोगले स्पष्टिकरण सोधेको छ।

मतदानको क्रममा मतपत्र देखाएको भन्दै उनलाई आयोगले २४ घण्टाभित्र जवाफ पेश गर्न निर्देशन दिएको हो।

आयोगका कानुन अधिकृत मोहनराज जोशीले भट्टराईलाई २४ घण्टे स्पष्टिकरण सोधिएको पुष्टि गरे।

भट्टराईले गृहजिल्ला गोरखाको पालुङटारमा मतदानका क्रममा मतदानको मत संकेत सार्वजनिक गरेका थिए।​

उनले सामाजिक सञ्जाल फेसबुकमा तस्बिर राख्दै आफूले मत दिएको चुनाव चिन्ह सार्वजनिक गरेका थिए।​

सार्वजनिक तस्बिरमा भट्टराईले जनता समाजवादी पार्टी (जसपा) नेपालको चुनाव चिन्ह ‘छाता’ मा मत दिएको देखिएको थियो।

जसमध्ये उनले नगर उपप्रमुखबाहेकका जसपाका उम्मेदवारलाई मत दिएका थिए।

निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ को दफा ९ मा मत संकेत सार्वजनिक गर्न नहुने उल्लेख छ। मत संकेत सार्वजनिक गर्ने व्यक्तिलाई मतदान अधिकृतले १५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने दफा ९ को उपदफा २ मा उल्लेख छ।

त्यस्तो मतपत्र मतपेटिकामा खसाली नसकेको भए छुट्टै खाममा सिलबन्दी गरी त्यसलाई गणना नगरिने उपदफा ३ मा उल्लेख छ।

तर, डा. भट्टराईले मत पेटिकामा मतपत्र खसालिसकेपछि तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्।

प्रकाशित मिति: May 13, 2022

प्रतिक्रिया दिनुहोस्