Logo
८ जेष्ठ २०८१, मंगलबार
(April 25, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमालेबाट काठमाडौँको मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डङ्गोलको उम्मेदवारी दर्ता

निर्वाचन आयोगमा नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डङ्गोलले उम्मेदवारी दर्ता गराएका छन् ।

मेयरका उम्मेदवार स्थापित र उपमेयरकी उम्मेदवार डङ्गोलले सभा गृहमा स्थापना गरिएको काठमाडौं महानगरपालिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सोमबार उम्मेदवारी दर्ता गराएका हुन् ।

काठमाडौं महानगरमा उम्मेदवारी दिएका दुवै जनाले रत्नपार्कको शान्ति वाटिकाबाट जुलुससहित राष्ट्रिय सभा गृह पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रदेश सांसदसमेत रहेका स्थापित २०५४ मा मेयरमा निर्वाचित भएका थिए । एमालेको तर्फबाट उम्मेदवार बनेका स्थापितले ‘मेरो पौरख, मेरो गौरव, मेरो काठमाडौं’ भन्ने नाराका साथ मेयरको निर्वाचनमा उठेका थिए ।

यसका साथै उनी पूर्व राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा काठमाडौं महानगरको मेयरमा पुनः मनोनीत भएका थिए ।त्यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकले सञ्चारकर्मी डङ्गोललाई उपमेयर बनाउने निर्णय गरेको थियो ।

उपमेयरकी उम्मेदवार डङ्गोल सन् २०११ की मिस नेवा हुन् । डङ्गोलले यसअघि स्वतन्त्ररूपमा मेयरमा उठ्ने घोषणा गर्दै प्रतिबद्धतापत्रसमेत सार्वजनिक गरेकी थिइन् ।

डङ्गोलले काठमाडौँलाई सुन्दर, जीवन्त, सांस्कृतिक र व्यवस्थित महानगर बनाउनका लागि विभिन्न प्रतिबद्धता जनाएकी थिइन् ।

उनले आफ्नो ८ खम्बे विकास मोडेलमा ‘स्वच्छ वातावरण, यातायात व्यवस्थापन, राजधानीका रूपमा पूर्वाधार विकास, सांस्कृतिक नगर, सामाजिक विकास, डिजिटल काठमाडौं, युवा, खेलकुद,रोजगारी तथा उद्यमशीलता, रिसर्च एन्ड डिभलपमेन्ट’ लाई समेटेकी थिइन् ।

प्रकाशित मिति: Apr 25, 2022

प्रतिक्रिया दिनुहोस्