Logo
४ जेष्ठ २०८१, शुक्रबार
(April 21, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीले भने : ‘प्रतिनिधिसभाको विघटन विल्कुल जायज थियो र नै आज हामी यहाँ छौँ’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गलत थियो भन्ने अभिव्यक्ति भुलेर पनि नदिन आफ्नै पार्टीका नेताहरूलाई भनेका छन् ।

केन्द्रीय सल्लाहकार परिषद्को बिहीबार बसेको बैठकलाई सम्बोधन गर्ने क्रममा ओलीले २०७७ पुस ५ र २०७८ जेठ ८ गते आफू प्रधानमन्त्री पदमा रहेका बेला गरिएको प्रतिनिधिसभा विघटनको भुलेर पनि विरोध नगर्न भनेका हुन् ।

उनले भने, ‘केही केही साथीहरूले यस्तो मौका पर्‍या बेला प्रतिनिधिसभा विघटन त गलतै थियो भन्ने पनि गर्नुभएको छ । यस्ता खालका गलत कुराहरू हाम्रो सल्लाहकार परिषद्का कोही पनि कमरेडहरूले भुलचुकले पनि नबोल्न आग्रह गर्दछु । वास्तवमा प्रतिनिधिसभाको विघटन विल्कुल जायज थियो र नै आज हामी यहाँ छौँ ।’

प्रतिनिधिसभा विघटन गरेकै कारण एमाले अहिले प्रमुख शक्ति बनेर अगाडि बढिरहेको दाबी गर्दै उनले त्यसको विरोध नगर्न एमालेको केन्द्रीय सल्लाहकार परिषद्का सदस्यहरूलाई भनेका हुन् ।

अब एमाले पार्टी एकस्वरमा अगाडि बढ्नुपर्ने भन्दै विरोधका आवाज र पार्टीले विगतमा गरेका निर्णयविरुद्ध नबोल्न ओलीले नेताहरूलाई भनेका हुन् ।

एमालेले ठिक समयमा ठिक निर्णय गर्दै अगाडि बढिरहेको उनको दाबी थियो । उनले भने, ‘स्पष्टताका साथ, बिना द्विविधा एकस्वरले अगाडि बढ्नुपर्छ । समान कदमका साथ, एक ताल, एक सुर, एक लयमा अगाडि बढ्नुपर्छ । आज प्रमुख शक्तिको हैसियत हामीले कायम रहेका छौँ । देशमा एमालेको लहर सिर्जना गरेका छौँ । होइन भने एमाले गन्तव्यहीन, दिसाहीन खत्तम भएर, ध्वस्त भएर, प्रचण्ड-माधवहरूको कब्जामा जान्थ्यो ।’

प्रतिनिधिसभा विघटन गरी ठिक निर्णय नलिएको भए एमाले पुष्पकमल दाहाल र माधवकुमार नेपालको व्यक्तिगत र पारिवारिक इच्छा पूर्तिमा लागेर समाप्त हुने थियो भन्ने ओलीको भनाइ थियो ।

प्रकाशित मिति: Apr 21, 2022

प्रतिक्रिया दिनुहोस्