Logo
८ जेष्ठ २०८१, मंगलबार
(April 20, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नगरपालिका र गाउँपालिकाको उम्मेदवार गठबन्धनमा भोलि बेलुकासम्म टुंगो लाग्ने

स्थानीय चुनावमा नगरपालिका र गाउँपालिकाको उम्मेदवार गठबन्धनमा भोलि बेलुकासम्म टुंगो लाग्ने नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले बताएका छन् ।

सत्ता गठबन्धनमा देशैभरका ६ महानगर र ११ उपमहानगरपालिकाको चुनावी तालमेलबारे सहमति भइसकेकाले अब नगरपालिका र गाउँपालिकामा पनि त्यसैगरी टुंगो लाग्ने बताएका हुन् ।

हामीले महानगरपालिका र उपमहानगरपालिकाको चुनावी तालमेलमा सहमति गर्यौँ, भोलि बेलुकासम्म नगरपालिका र गाउँपालिकाको पनि चुनावी तालमेलको विषयमा टुंग्याउछौँ’, उनले भने, ‘ त्यसका लागि पार्टीको तर्फबाट पनि त्यसैअनुसार लाग्छौँ ।’

उनले स्थानीय तहमा तालमेलको विषय मिलाउन केन्द्रीय कार्यदलले सहजीकरण, समन्वय र अनुगमन गर्ने पनि बताए । यस्तै पुनले आ-आफ्नो दलबाट नगरपालिका र गाउँपालिका उम्मेदवार सिफारिस भएपनि समस्या नहुने जिकिर गरे।

‘सबै पार्टीहरुले आ-आफ्नो तयारी अनुरुप उम्मेदवार सिफारिस गर्ने नै भए। तालमेल हुने भएमा जसको जहाँ भागवण्डा पर्छ त्यहाँको उम्मेदवार अघि बढ्ने हुन्छ । अरु पछाडि हट्ने स्थिति हुन्छ’, उनले भने, ‘सिफारिस गर्दैमा समस्या हुँदैन ।’

पाँच दलभित्र एकले अर्कालाई भोट हाल्ने विश्वासको वातावरण हुने भएकाले सबै ढुक्क रहन पनि पुनले आग्रह गरे । ‘हामीले जहाँ जहाँ नगरपालिका र गाउँपालिकामा चुनावी तालमेल हुने वातावरण बन्छ, त्यहाँ तालमेल गर्छौ।

तालमेल नहुने स्थानीय तहमा गठबन्धनभित्रै प्रतिस्पर्धा हुन्छ’, पुनले भने, ‘यदि गठबन्धनभित्र तालमेल नभएमा एमालेसँग भने तालमेल नगर्ने अण्डरस्ट्यान्डिङ बनाएका छौ।’

 

प्रकाशित मिति: Apr 20, 2022

प्रतिक्रिया दिनुहोस्