Logo
७ जेष्ठ २०८१, सोमबार
(April 20, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आगामी वर्षको नीति तथा कार्यक्रममा भ्यु टावर र सभाहल बनाउने काममा बजेट थप्दैनौँ : झाँक्री

सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा भ्यु टावर र सभाहल निर्माणलगायतका कामलाई बजेट नथप्ने बताएकी छन् ।

सञ्चालनको मापदण्ड नभएको र असीमित दायित्व सिर्जना गर्ने भएकाले भ्यु टावर र सभाहल निर्माणका लागि आगामी वर्षको नीति कार्यक्रममा बजेट व्यवस्था नहुने उनको भनाइ छ ।

मन्त्रालयले एकीकृत बस्ती विकास कार्यक्रमलाई पनि निरन्तरता नदिने बताएको छ । एकीकृत बस्ती विकासका कार्यक्रमको प्रभावकारिताप्रति आफू गम्भीर रहेको बताउँदै मन्त्री झाँक्रीले यसलाई विस्थापन गरेर बस्ती विकासको नयाँ कार्यक्रम ल्याइने बताइन् ।

‘आगामी आर्थिक वर्ष नीति तथा कार्यक्रममा भ्यूटावर र सभाहल निर्माणको कार्यक्रमबाट अलग्गिन्छौँ, राज्यको असीमित दायित्व सिर्जना हुने यस्ता संरचनाले जनजीवनसँग अर्थ राख्दैनन्,’ झाँक्रीले भनिन्, ‘अर्को कुरा यसको सञ्चालनको मोडालिटी समेत छैन ।’

उनले यसअघि मन्त्रालयले बनाइरहेका ३२ वटा सभाहल भने प्राथमिकताका साथ निर्माण सम्पन्न गर्ने बताइन् ।’आगामी बजेटमा एकीकृत बस्ती विकास कार्यक्रमबाट पछि हट्छौँ । पहाडी र हिमाली क्षेत्रमा यो कार्यक्रम प्रभावकारी देखिएन । तराई र काठमाडौँ उपत्यका क्षेत्रमा जग्गाको अभाव छ,’ उनले भनिन् ।

मन्त्री झाँक्रीले आगामी वर्षको नीति तथा कार्यक्रममा यसलाई बस्ती विकास तथा संयुक्त आवास कार्यक्रममा रुपान्तरण गर्न लागिएको बताइन् ।

उनले यसअघिको सरकारले बिना कुनै योजना उक्त कार्यक्रम ल्याएकाले मोरङको सन्थाल बस्तीमा टेन्डर गरेर शिलान्यास गर्दा समेत काम सुरु हुन नसकेको बताइन् ।

प्रकाशित मिति: Apr 20, 2022

प्रतिक्रिया दिनुहोस्