Logo
१२ जेष्ठ २०७९, बिहीबार
(April 15, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मध्यपुरथिमिमा स्थानीयले मनाए हर्षोल्लासका साथ सिन्दुर जात्रा

भक्तपुरको बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिका स्थानीयवासीले आज हर्षोल्लासका साथ ३२ खटसहितको सिन्दुर जात्रा मनाएका छन् ।

बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिका स्थानीयवासीले बिहानैदेखि हर्षोल्लासका साथ सिन्दुर खेलेर सिन्दुर जात्रा मनाएका हुन् ।

थिमिमा मात्र मनाइने यो जात्रामा एकअर्कामा सिन्दुर दलेर धिमे लगायतका स्थानीय बाजामा नाच्दै हातहातमा चिराग बालेर खट बोकी बालकुमारीमा ३२ खट ल्याएर भव्य रुपमा मनाउने परम्परा छ ।

जात्रामा काँया बाजा, भुस्याबाजा, धिमेबाजा बजाएर देवताका खटलाई घुमाउँदै एक अर्कालाई सिन्दुर दल्ने, आपसमा सिन्दुर खेली स्थानीय जात्रालु रमाइलो गर्ने भएकाले पनि यसलाई सिन्दुर जात्रा भनिएको हो ।

पमाहरु हातहातमा चिराग अर्थात बत्ती लिएर पमा नाइकेको अनुमतिमा बालकुमारीको खट उचालेपछि जात्रालाई दिगुटोलस्थित देवता घर परिक्रमा गराइएको थियो ।

जात्रामा मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलगायत जनप्रतिनिधिको पनि सहभागिता रहेको छ । यो जात्रालाई भव्य र सभ्यरुपमा मध्यपुरका बासिन्दाले मनाउँदै आएकोको स्थानीयले बताउछन् । यस जात्राले यहाँका संस्कृति र धार्मिक परम्परालाई हर्षोल्लासका साथ मनाएर उदाहरण दिएको स्थानीयले नागरिकले बताए ।

थिमिमा ३२ खट सहभागी रथ बोकेर गराई परम्परागतरूपमा मनाउँदै आएको सो जात्रा अहिले थिमि क्षेत्रमा २३, नगदेशमा एक, बोडेमा सात, टिगनीमा एक, दक्षिण बाराही र निकोसेरालगायतमा छुटाछुटै स्थानमा खटजात्राका साथ सिन्दुर जात्रा मनाइने गरेको छ ।

मूल देवता खटमा राखी धिमेबाजाका साथ चिराग बाली सिन्दुरे जात्रा मनाइने गरिन्छ । जात्रा प्रत्येक चोक, चौबाटो, घर र टोलमा पुग्दा घरका झ्याल, कौसी र छतबाट सिन्दुर छर्ने, फूल बर्साएर स्वागत गर्ने प्रचलन छ ।

बालकुमारीलाई विभिन्न क्षेत्रको परिक्रमा गराई उमङ्गका साथ थिमिका बासिन्दाले सिन्दुर खेल्दै यो जात्रा मनाउँछन् । यात्रामा एक अर्कामा सौहार्दपूर्ण रुपमा सिन्दुर दल्ने, छ्याप्ने र नेवारी बाजाको तालसँगै नाच्ने गरिन्छ ।

 

 

प्रकाशित मिति: Apr 15, 2022

प्रतिक्रिया दिनुहोस्