Logo
१२ जेष्ठ २०७९, बिहीबार
(April 4, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पपुवा न्युगिनीलाई ५० रनले पराजित गर्दै नेपालले जित्याे त्रिकोणात्मक टी-२० को उपाधि

पपुवा न्युगिनीलाई ५० रनले पराजित गर्दै नेपालले त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधि जितेको छ । दीपेन्द्रसिंह ऐरी र करन केसीले उत्कृष्ट खेल प्रदर्शन गरेपछि पपुवा न्युगिनीलाई ५० रनले पराजित गर्दै नेपालले उपाधि जीतेको हो ।

ऐरीले अविजित ५४ रन बनाउनुका साथै महत्त्वपूर्ण चार विकेटसमेत लिए । केसीले अविजित ३३ रनको योगदान दिनुका साथै पपुवा न्युगिनीका तीन खेलाडीलाई पवेलियन फर्काए ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा पपुवा न्युगिनीले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि नेपाल ब्याटिङमा उत्रेको थियो ।

नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६८ रन बनायो ।नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय पारी खेले । उनले ५४ रन बनाउने क्रममा ३८ बलको सामना गर्दै पाँच चौका प्रहार गरे ।

यस्तै करन केसीले १२ बलको सामना गर्दै एक छक्का र पाँच चौका प्रहार गरे ।आशिफ शेखले २९, कुशल भुर्तेलले २५ र मोहमद आदिल आलमले १५ रन बनाए ।बलिङतर्फ पपुवा न्युगिनीका सेमो कमेआले तीन तथा चाड सुपर, कबुवा मोरिआ र रिले हेकुरेले एक एक विकेट लिए ।

एक सय ६९ रनको लक्ष्य पछ्याउने क्रममा पपुवा न्युगिनीको पारी ११८ रनमा समेटियो । पपुवा न्युगिनीलाई जिताउन सेसे बाउ अन्तिम समयसम्म सङ्घर्षरत रहे ।

उनले ३८ बलको सामना गर्ने क्रममा ६ छक्का र एक चौका प्रहार गर्दै सर्वाधिक ५९ रन बनाए । चाल्र्स अमिनीले १५ रन बनाउनु बाहेक पपुवा न्युगिनीका अरू कुनै पनि खेलाडीले उल्लेख्य रन बनाउन सकेनन् ।

प्रारम्भिक खेलाडीद्वय लेगा सिका र असाद भालाले आठ/आठ रन मात्र बनाउन सके ।बलिङतर्फ नेपालका ऐरी र केसीका साथै कप्तान सन्दिप लामिछानेले समेत दुई विकेट लिए ।

ऐरीले निकै नै किफायती बलिङ गरे ।उनले चार ओभरमा १८ रन मात्र खर्चिए । यस्तै केसीले तीन ओभरमा २७ रन तथा लामिछानेले चार ओभर बलिङ गर्दै २५ रन दिए ।

नेपाल, पपुवा न्युगिनी र मलेसिया सहभागी त्रिकोणात्मक टी–ट्वान्टी शृङ्खलाको ‘प्लेयर अफ दी सिरिज’ नेपालका ऐरी घोषित भए । उनले प्रतियोगिता अवधिभर पाँच खेलमा २५५ रन बनाउनुका साथै सात विकेटसमेत लिए ।

ऐरी आजको फाइनल खेलको ‘प्लेयर अफ दी म्याच’ समेत भए ।

प्रकाशित मिति: Apr 4, 2022

प्रतिक्रिया दिनुहोस्