चुनावी तालमेलको ‘मोडालिटी’बारे थप निर्णय लिन भोली गठबन्धनको बैठक बस्दै
तालमेलको ‘मोडालिटी’बारे थप निर्णय लिन गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणपछि आइतबार साँझ स्वदेश आएकाले तालमेलको ‘मोडालिटी’बारे थप निर्णय गर्न मंगलबार बैठक बस्ने तय भएको छ ।
पाँच दलीय गठबन्धनले स्थानीय निर्वाचनमा जाँदा तालमेलको ‘मोडालिटी’बारे थप निर्णय गर्ने भएको छ ।गठबन्धनको एउटा घटक राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले बैठकको मिति तय भए पनि समय तय हुन बाँकी रहेको बताइन् ।
१७ चैतमा आगामी स्थानीय निर्वाचनमा तालमेल गर्ने गठबन्धनले निर्णय गरेयता प्रदेशदेखि पालिका स्तरमै तालमेल र त्यसको मोडालिटीबारे छलफल सुरू भएको छ ।
तर, तालमेलबारे गठबन्धनको नेतृत्व दल कांग्रेसभित्र असन्तुष्टि देखिएको छ । डा शेखर कोइराला पक्षले कांग्रेस एक्लै निर्वाचनमा जानुपर्नेमा जोड दिँदै तालमेल हुँदा माओवादीलाई मत माग्न नसकिने जनाएको छ ।
कांग्रेसको संस्थापनइतर पक्षको नेतृत्व गरेका कोइराला पक्षदेखि निरन्तर गठबन्धन विरोधी अभिव्यक्ति आएपछि माओवादी पनि त्यति सन्तुष्ट छैन ।
नेता वर्षमान पुनले माओवादी-एमालेबीच तालमेलबारे छलफल भइरहेको बताइसकेका छन् । तैपनि गठबन्धनलाई थप मजबुत बनाएर लाने गठबन्धनका शीर्ष नेताहरूले बताउँदै आएका छन् ।