Logo
३० बैशाख २०८१, आईतबार
(April 1, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री देउवा औपचारिक भ्रमणका लागि दिल्ली प्रस्थान

तीन दिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री शेरबहादुर देउवा भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् । चार मन्त्रीसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा केही बेर अघि दिल्ली प्रस्थान गरेका हुन् ।

त्यसअघि उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको टोलीले बिदाइ गरेको थियो ।प्रधानमन्त्रीलाई बिदाइ गर्न सभामुख अग्नि सापकोटा, गृहमन्त्री बालकृष्ण खाँण लगायत पनि विमानस्थल पुगेका थिए ।

उनी भारतीय समय अनुसार दिउँसो २ः५० बजे नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् । त्यसपछि उनी चाणक्यपुरीस्थित आईटीसी मौर्य होटलमा गएर बस्नेछन् ।

प्रधानमन्त्री देउवासँग आज अपराह्न साढे चार बजे भारतीय विदेशमन्त्री एस जयशंकर र सुरक्षा सल्लाहकार अजित डोभालले भेट गर्ने कार्यक्रम छ ।

त्यसपछि देउवा पाँच बजे सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)को केन्द्रीय कार्यालयमा पुग्ने छन् । त्यसपछि उनी नयाँदिल्लीस्थित नेपाली दूतावासले आयोजना गरेको रात्रि भोजमा सहभागी हुनेछन् ।

प्रधानमन्त्री देउवाले शनिबार समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री देउवाले आइतबार बनारसको भ्रमण गर्ने र सोही दिन स्वदेश फर्किने कार्यक्रम छ ।

प्रकाशित मिति: Apr 1, 2022

प्रतिक्रिया दिनुहोस्