Logo
४ जेष्ठ २०८१, शुक्रबार
(March 31, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गठबन्धन निर्वाचनसम्म कायम रहनेमा कुनै दुबिधा छैन : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धन निर्वाचनसम्म कायम रहनेमा दुबिधा नरहेको दाबी गरेका छन् ।

काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले गठबन्धन एउटा सन्दर्भमा जन्मिएको भन्दै संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाका लागि बनाइएको गठबन्धन कायम रहने नरहने भन्नेमा कुनै दुबिधा नरहेको बताएका हुन् ।

‘निर्वाचन अगाडि छ र गठबन्धनकै रुपमा जाने भन्नेतिर नै हामी प्रस्टै छौ’ अध्यक्ष प्रचण्डले भने, ‘नेपाली काँग्रेसको कार्यसमितिले के गर्ला भन्ने थियो । काँग्रेस कार्यसमितिको पनि करिब करिब गठबन्धन कायम राखेर जाने भन्ने भइसकेपछि त्यसमा अब हामीभित्र दुबिधा छैन ।’

उनले निर्वाचनमा वर्तमान सत्ता गठबन्धन मिलेरै जाने भन्दै आउने निर्वाचनलाई शान्तिपूर्ण स्वच्छ, निष्पक्ष रूपले सम्पन्न होस् र परिणामले राजनीतिक स्थायित्वलाई राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्न मद्दत गरोस् भन्ने गठबन्धनको चाहाना रहेको बताए ।

अध्यक्ष प्रचण्डले माओवादी केन्द्र प्रत्येक सङ्कट मोचनको भूमिका खेल्नुपर्ने अवस्थामा रहँदै आए पनि त्यहीअनुसार सबैले माओवादीलाई स्विकार्ने अवस्था नहुनु विचित्रका रुपमा व्याख्या गरे ।

उनले माओवादीले खेलेको यही भूमिकाका कारण जनतामा फेरि माओवादीप्रति आकर्षण बढेको दाबी गरे ।उनले नेपालको अर्थतन्त्रमा देखिएको सङ्कटबारे पनि चर्चा गरे ।

‘मैले केही अर्थविदहरुसँग छलफल पनि गरिरहेको छु । नेपालको अर्थतन्त्रलाई दुर्घटनाबाट बचाउन समयमै उपाय खोज्नुपर्ने हुन्छ । अर्थतन्त्र डरलाग्दो त होइन तर गम्भीर समीक्षा गरिएन र नियन्त्रणका उपाय अवलम्बन गरिएन भने भोलि अप्ठेरो स्थिति आउन सक्छ ।’

उनले यसबारे प्रधानमन्त्रीसँग पनि आफूले कुरा गरेको भन्दै राजनीतिक गठबन्धनको तर्फबाट पनि समस्याको समाधान गर्ने पहल भइरहेको बताए । ‘हामी उपाय निकाल्छौ र यो स्थितिलाई सम्हाल्छौ’, प्रचण्डको दाबी छ ।

 

प्रकाशित मिति: Mar 31, 2022

प्रतिक्रिया दिनुहोस्