Logo
५ जेष्ठ २०८१, शनिबार
(March 18, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्थानीय चुनावको विषयलाई लिएर विप्लवको पार्टीमा विवाद

स्थानीय चुनावमा सहभागी हुने कि नहुने भन्ने विषयका कारण नेत्र विक्रम चन्द ‘विप्लव’ नेकपा भित्र विवाद सृजना भएको छ ।नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पार्टी सचिवालय बैठकमा औपचारिक रूपमै चुनावमा सहभागी हुने प्रस्ताव राखेपछि पार्टीमा विवाद बढेको बढेको छ ।

शुक्रबारका लागि तय भएको नेकपाको केन्द्रीय समिति बैठकमा पार्टी महासचिव विप्लवले चुनावी प्रस्ताव पेस गर्ने र त्योभन्दा पहिले सचिवालयमा एकमत बनाउने प्रयास गरेका थिए ।

कपिलवस्तुमा बुधवार पुनः सचिवालय बैठक बस्ने भनिए पनि पार्टी प्रवक्ता प्रकाण्ड काठमाडौँ रहेका कारण बिहीबारसम्मका लागि बैठक स्थगित भएको थियो ।

दुई दिनसम्म काठमाडौंमा चलेको पाँच सदस्यीय सचिवालय बैठकमा विप्लवको प्रस्ताव नै अल्पमतमा पर्‍यो । पार्टीका एक केन्द्रीय सदस्यका अनुसार चुनावमा सहभागी हुने प्रस्तावको पक्षमा विप्लवसँगै पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र चुनावमा विपक्षमा हेमन्तप्रकाश ओली ‘सुदर्शन’, धर्मेन्द्र बास्तोला ‘कञ्चन’ उभिए ।

सचिवालय सदस्य सन्तोष बुढा मगर दुवै पक्षमा नखुलेपछि सचिवालय बैठकमा विप्लवको प्रस्ताव अल्पमतमा पर्‍यो । दुई दिनसम्म बसेको बैठक विना निष्कर्षमै टुङ्गियो ।

आफ्नो प्रस्ताव अल्पमतमा परेपछि विप्लवले दुवै पक्षमा नखुलेका सन्तोष बुढालाई सँगै गाडीमा लिएर कपिलवस्तु हिँडे ।विप्लवले बैठकमा पार्टी शान्तिपूर्ण राजनीतिमा आइसकेको र जनताबाट अलग्गिने भन्दै चुनावमा सहभागी हुनुपर्नेमा जोड दिएको एक सचिवालय सदस्यले बताए ।

महासचिव विप्लवको प्रस्तावको विपक्षमा रहेका सुदर्शन र कञ्चन अहिले क्रान्तिकारी शक्ति कमजोर भएको र चुनावको नतिजा जनताको पक्षमा नआउने बुझाइमा छन् ।

बैठकमा उनीहरूले दोस्रो संविधानसभाको निर्वाचनसहित त्यसपछिका निर्वाचन बहिस्कार गरेको औचित्य पुष्टि नहुने बताएका थिए । विप्लवको प्रस्ताव अनुसारै चुनावमा जानुपर्नेमा प्रवक्ता प्रकाण्डले भने जोड दिएका थिए ।

विप्लवले अलग–अलग गरेको छलफलमा चुनावमा जान तयार भए पनि बैठकमा बुढामगरले चुनावी नतिजा जनताको विपक्षमा आउने मत राखेका थिए ।

नेता बास्तोलाले तीन बुँदे सहमति कार्यान्वयन नभएको अवस्थामा चुनावमा जानु ठिक नहुने बताउँदै चुनावमा सहभागी हुने भए अहिलेसम्म बहिस्कार गरेको औचित्य पुष्टि गर्नुपर्ने धारणा राखेका थिए ।

अर्का सचिवालय सदस्य सुदर्शनले पार्टीका नेता कार्यकर्ता अझै पनि जेलमै रहेको र जनमत सङ्ग्रहको नारा लगाएर संसदीय व्यवस्थाको चुनावमा जानु राजनीतिक बेइमानी हुने धारणा राखेका थिए ।

प्रकाशित मिति: Mar 18, 2022

प्रतिक्रिया दिनुहोस्