Logo
५ जेष्ठ २०८१, शनिबार
(March 17, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रचण्डले भने : ‘अहिले हामी गठबन्धनमा छौँ ! तत्काल एमालेसँग गठबन्धनको सम्भावना छैन’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल एमालेसँग गठबन्धनको सम्भावना नरहेको बताएका छन् । साथै प्रचण्डले आगामी चुनावमा गठबन्धन होला र जितौँला भन्ने मनस्थितिमा नबस्न कार्यकर्तालाई आग्रह गरेका छन् ।

प्रेस सङ्गठन लुम्बिनीद्वारा आज बुटवलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले आगामी वैशाख ३० मा स्थानीय तहको निर्वाचन हुनेमा ढुक्क हुन आग्रह गरे ।

अध्यक्ष दाहालले सरकारमा सहभागी पाँच दलीय गठबन्धन नै निर्वाचनसम्म जोगाएर लैजाने पक्षमा रहेको जानकारी दिए । उनले भने, ‘अहिले हामी गठबन्धनमा छौँ । तत्काल एमालेसँग गठबन्धनको सम्भावना छैन ।’

उनले निर्वाचनमा तालमेल गर्ने र अधिकतम परिणाम निकाल्ने कुरालाई सहायक प्राथमिकतामा राखेर निर्वाचन तयारीमा लाग्न आग्रह गर्दै निर्वाचनका बारेमा कुनै आशङ्का नगर्नसमेत आग्रह गरे ।

उनले चुनावमा आफ्नै सङ्गठनलाई बलियो बनाएर जानुपर्ने र आफ्नै तागतमा जनताको मन जित्ने कुरालाई पहिलो प्राथमिकतामा राख्नसमेत कार्यकर्तालाई आग्रह गरेका छन् ।

पूर्व प्रधानमन्त्री दाहालले काँग्रेसका केही नेताले माओवादीसँग गठबन्धन हुँदैन भने पनि प्रधानमन्त्री देउवाले भने यो गठबन्धनलाई बचाएर लैजाने पक्षमा रहेको रहेको जनाउँदै भने, ‘काँग्रेसले लखेट्न थाल्यो भने परिस्थिति के हुन्छ भन्न सकिन्न ।’

उनले चुनाव हुन्छ वा हुँदैन भन्ने आशङ्का अवस्था अझै व्याप्त रहेको जनाउँदै आफूहरू चुनावको तयारीमा पुरै तागत लगाएर गइसकेको बताए।

पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसहितका नेतासँगै पत्रकार सम्मेलनमा आएका अध्यक्ष दाहालले पार्टीभित्र एमसीसीका कारण उत्पन्न विवाद समाधान भइसकेको र आफूहरू एक ढिक्का भएर चुनावी अभियानमा हिँडिरहेको बताए ।

प्रकाशित मिति: Mar 17, 2022

प्रतिक्रिया दिनुहोस्