Logo
५ जेष्ठ २०८१, शनिबार
(January 30, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फागुन ९ गते भैरहवामा ‘क्यालिब्रेशन फ्लाइट’, बुद्ध जयन्तीदेखि नियमित उडान

भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आउँदो फागुन ९ गते ‘क्यालिब्रेशन फ्लाइट’ गर्ने गरी तयारी भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बताएका छन् ।

आज दिउँसो भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षणपश्चात उनले भने, ‘मौसमले साथ दिएमा फागुन ९ गते क्यालिब्रेशन फ्लाइट र बुद्ध जयन्तीमा अन्तर्राष्ट्रिय उडान हुन्छ ।’  हुस्सु, कुहिरो र भिजिबिलिटी कम लागेको बेला भने फ्लाइट गर्न नमिल्ने प्राविधिकले बताएका छन् ।

मन्त्री आलेले ढिलाइ नगर्न र क्यालिब्रेशन फ्लाइट नगरेसम्म मन्त्रालय, क्यान र आयोजनाका पदाधिकारी, टिम सदस्य दिनरात काममा खटिनसमेत निर्देशन दिए । उनले भने, ‘कुनै पनि हालतमा, कुनै पनि बहानामा काम नरोकियोस् ।’

छेऊमै रहेका कांग्रेस नेता भरत कुमार शाहलाई देखाउँदै मन्त्री आलेले भने, ‘सार्वजनिक लेखा समितिका सभापति यहीँ हुनुहुन्छ, माननीय प्रमोद यादव यहीँ हुनुहुन्छ । यो निर्वाचन क्षेत्रका माननीय घनश्याम भुसालले दिनदिनै सोध्नुहुन्छ, प्रधानमन्त्री, मन्त्रीज्यूहरू सबैको चासो छ, यो विमानस्थलमा छिटो उडान हुनुपर्छ भन्नेछ । हामी त्यहीअनुसार तयारी गरिरहेका छौँ ।’

लेखा समितिका सभापति भरतकुमार शाह र सांसद प्रमोदकुमार यादवले छिटो उपकरण जाँच गरी उडानको तयारी गर्न आग्रह गरे । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले एरोथाइको टिम काम सकेर मात्रै फर्किन्छ, त्यसपछि परीक्षण उडान नेपाल एयरलाइन्सको ३३० ले गर्ने बताए ।

एरोथाइका नेपाल प्रतिनिधि विजेन्द्र श्रेष्ठले भने, ‘यहाँको मौसमलाई तीन वर्षमा नियाल्दा भिओएफआरमा उड्न मिल्छ । क्यालिब्रेशन फ्लाइटका लागि सफा मौसम चाहिन्छ । कम्तीमा पाँच किमी भिजिबिलिटी चाहिन्छ । फ्रेबुअरी २१ मा भैरहवामा जहाज ल्याण्डिङ हुनेछ तयारी छ । कुनै पनि हालतमा २१ फेब्रुअरीभन्दा ढिला हुँदैन ।’

भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा अहिलेसम्म आईसीपी वान र टु गरेर साढे सात अर्ब रुपैयाँ लगानी भइसकेको छ ।

प्रकाशित मिति: Jan 30, 2022

प्रतिक्रिया दिनुहोस्