Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 13, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारले तत्काल लकडाउन नगर्ने, नयाँ भेरियन्टसँग जुध्न तयार रहेको स्वास्थ्यमन्त्रीको दावी

सरकारले तत्काल लकडाउन नगर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा नरहेको बताएका छन्। मन्त्री खतिवडाले यसअघि अन्य देशहरुको कुरा सुनेर लकडाउन गरेपनि अब आवश्यक ठाउँ हेरेर मात्रै लकडाउन गरिने बताएका हुन्।

उनले यसअघिका लकडाउनले देशको आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा धेरै असर गरेको भन्दै अब लकडाउन नै समाधान हो भन्ने किसिमबाट सरकार नजाने बताए। मन्त्री खतिवडाले सरकार स्वास्थ्य क्षेत्रमा विशेष तयारीका साथ काम गरिरहेकोले लकडाउन हुन्छ भनेर आत्तिनु नपर्ने बताए।

‘शुरुका बेलामा आतंक बढी भएको हुनाले एक, दुई वटा सामान्य लक्षण देख्दा पनि यसको उपचार लकडाउन भनेर गर्‍याैँ। जति जानेको थियो त्यति गर्‍याैँ। विश्वमा, युरोपेली देशहरुमा लकडाउन भनेको सुन्यौँ, यो नयाँ कुरा भयो, त्यसैअनुसार गर्‍याैँ। हामी पनि आतंकित भयौँ। गर्नुपर्ने बेलामा गरेनौँ, अघि पछि गर्‍याैँ।,’बिहीवार कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रमपछि बोल्दै मन्त्री खतिवडाले भने, त्यसले केही मृत्युदर घटायो होला भन्ने अनुमान गर्न सकिन्छ। तर त्यसले परेको शैक्षिक क्षेत्रको असर, औद्योगिक, राजश्व, सामाजिक क्षेत्रका अनेक कामहरुलाई पुगेको क्षति, नदेखिने यो क्षति मृत्यु भन्दा पनि भयावह ढंगले भयो। त्यसैले अब हामी आत्तिएर, मात्तिएर लकडाउन नै समाधान हो भन्ने पक्षमा छैनौँ।’

उनले आवश्यकता हेरेर खास ठाउँमा त्यो विचार पुर्याएर लकडाउन गर्ने पनि स्पष्ट पारे। उनले सरकारले सबै ठाउँमा आइसोलेसन वार्डहरु, आईसीयू, अक्सिजन, पहिलो भेरियन्टको बेला भन्दा दुई तीन गुणा बढी रहेको बताए।

मन्त्री खतिवडाले कोरोनाको तेस्रो भेरियन्टबाट बच्न होशियार रहनुपर्ने भन्दै मास्क र स्यानिटाइजर अनिवार्य प्रयोग गर्न आग्रह गरे। उनले कोरोनाको पहिलो र दोस्रो डोज लगाएर सुरक्षित बस्न पनि आग्रह गरे। मन्त्री खतिवडाले विज्ञहरुले बुस्टर डोज लगाएपछि तेस्रो भेरियन्टबाट बच्न सहज हुने बताएकोले आउँदो माघ पहिलो हप्ताबाट अग्रपंक्तिमा रहेर काम गर्नेहरुलाई बुस्टर डोजको व्यवस्था गरिएको जानकारी दिए।

प्रकाशित मिति: Jan 13, 2022

प्रतिक्रिया दिनुहोस्